काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कृष्णभीर क्षेत्रमा सडक भासिएपछि पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएपछि काठमाडौँमा ग्यासको आपूर्ति सहज बनाउन हेटौडा हुदै भरिएको ग्यास सिलिन्डर ल्याउने बताएको छ ।
सडक अवरुद्ध हुँदा एलपी ग्यास बोकेका बुलेट काठमाडौँ उपत्यका प्रवेश गर्न नसक्ने भएपछि ग्यास आपूर्ति सहज बनाउन मन्त्रालयले नेपाल आयल निगम, एलपी ग्यास उद्योगी तथा व्यवसायी र सम्बन्धित निकायसँग निरन्तर समन्वय र सहजीकरण गर्ने बताएको छ ।
मन्त्रालयले हेटौँडाबाट वैकल्पिक सडकमार्फत दैनिक १०० ट्रक भरिएको एलपी ग्यास काठमाडौँ उपत्यकामा पठाएर वितरण गर्ने दाबि गरेको छ । पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआएसम्म हेटौँडाबाट वैकल्पिक मार्ग हुँदै ग्यास आपूर्ति गर्ने व्यवस्था निरन्तर कायम राखिने मन्त्रालयले जनाएको छ ।
अहिले साल्ट ट्रेडिङको एसटीसी ग्यास वीरगन्जको मनोज ग्यासमा भरेर पठाउन थालिएको छ भने बाबा ग्यास चितवनले एक हजार ५०० श्री ग्यासका सिलिन्डर भरेर पठाएको छ । गैँडाकोटको जानकीमा नौबिसेको श्रीराम, हेटौँडाको सहारामा काठमाडौंको एभरेस्ट र सुगमको ग्यास भरेर पठाइएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ ।
नेपाल आयल निगम तथा एलपी ग्यास व्यवसायीसँगको निरन्तर संवाद र सहकार्यबाट काठमाडौँ उपत्यकामा देखिएको ग्यास अभाव आगामी केही दिनभित्र क्रमशः समाधान हुँदै जाने विश्वास मन्त्रालयले लिएको छ ।
विपद्का कारण आम उपभोक्ताको दैनिक जीवनमा थप असहजता नहोस् भन्ने उद्देश्यले आपूर्ति व्यवस्थालाई सहज, नियमित र प्रभावकारी बनाउन आवश्यक सबै पहल भइरहेको मन्त्रालयले जनाएको छ ।
नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको ग्यास आपूर्तिमा कुनै कमी हुन नदिन मन्त्रालय प्रतिबद्ध रहेकोसमेत जनाएको छ ।
भाडा तोकियो
त्यस्तै, हेटौंडामा मकवानपुर उद्योग वाणिज्य संघको पहलमा भएको छलफलमा नेपाल एलपी ग्यास उद्योग संघ र नारायणी यातायात व्यवसायी संघबीच भएको सहमती बमोजिम हेटौंडा, खुरखुरे, पर्सा, नारायणगढ, गैंडाकोट, सिमरा, जितपुर, बीरगंज, कलैया स्थित विभिन्न एलपी ग्यास उद्योगहरुबाट उत्पादित एलपी सिलिण्डर ग्यास हेटौंडादेखि त्रिभुवनराजपथ हुंदै काठमाडौं उपत्यकाभित्र ढुवानी गर्ने कार्यको संयोजन नारायणी यातायात व्यवसायी संघले गर्ने भएको छ ।
साथै ग्यासको भाडासमेत तय गरिएको छ ।
जस अनुसार हेटौँडास्थित सहारा ग्यास उद्योगबाट काठमाडौँसम्म ग्यास सिलिन्डर ढुवानी भाडा १० वा १२ चक्के ट्रकले १५ टन ग्यास ढुवानी गरेबापत मूल्य अभिबृद्धि कर बाहेक एकमुष्ट ८० हजार र ६ चक्के ट्रकले ढुवानी गर्दा एकमुष्ट ५५ हजार रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, चितवन खुरखुरेबाट नेपाल ग्यास उद्योगका ग्यास सिलन्डिरहरु काठामडौँसम्म ग्यास ढुवानी गर्दा १० वा १२ चक्के ट्रकबाट १५ टन ग्यास ढुवानी गर्दा एकमुष्ट ९३ हजार रुपैयाँ निर्धारण गरिएको छ । नवलपुर गैँडाकोटस्थित जानकी ग्यास उद्योगका सिलिन्डरहरु १० वा १२ चक्के ट्रकले १५ टन ग्यास ढुवानी गरेबापत एकमुष्ट ९८ हजार रुपैयाँ तय गरिएको छ ।चितवन (पर्सा आसपास) का अन्य ग्यास उद्योगबाट १० वा १२ चक्के ट्रकले १५ टन ग्यास ढुवानी गर्दा एकमुष्ट ९३ हजार भाडा दर कायम रहनेछ ।
बारा (सिमरा–जितपुर क्षेत्र)बाट १० वा १२ चक्के ट्रकले १५ टन ग्यास ढुवानी गरेबापत एकमुष्ट ९० हजार रुपैयाँ तोकिएको छ ।कलैया तथा वीरगञ्ज क्षेत्रबाट ग्यास उद्योगहरूबाट ग्यास ढुवानी गर्दा १० वा १२ चक्के ट्रकको एकमुष्ट भाडा ९५ हजार रुपैयाँ तय गरिएको छ।
बैठकले तय गरेका सम्पूर्ण भाडा दरहरू दुईतर्फी हिसाबले लागू हुने निर्णय गरिएको छ । जसअनुसार काठमाडौँ उपत्यकामा भरिएका सिलिन्डर पुर्याएर अनलोड गरेपछि ती ट्रकहरूले खाली सिलिन्डर लोड गरी पुनः सम्बन्धित ग्यास उद्योगमै फिर्ता ल्याउनुपर्ने संघले जनाएको छ ।









