काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि नेपालले विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त गरिरहेको सहयोगबारे जानकारी दिएका छन् ।
प्रधानमन्त्री शाहका अनुसार बाढी आएको दिनदेखि नै विभिन्न देशले नेपाललाई राहत, उद्धार सामग्री, आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएका छन् । उनले नेपालको दुःखमा मित्रराष्ट्रहरू दरिलो खम्बाका रूपमा उभिएको बताएका छन् ।
छिमेकी भारतले पाँच चरणमा हालसम्म ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराएको छ भने प्रभावित क्षेत्रमा उद्धारका लागि विज्ञ टोलीसमेत परिचालन गरेको छ । चीनले ३० करोड रुपैयाँ र ५० टन राहत सामग्री उपलब्ध गराइसकेको छ। नेपालले प्रभावित क्षेत्रमा प्रयोग गर्न चीनसँग ३० वटा बेलीब्रिज उपलब्ध गराउन अनुरोध गरेको छ ।
पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुँदैछ भने श्रीलंकाले १० लाख अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । बंगलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ ।
अमेरिकाले ५ लाख अमेरिकी डलर र अष्ट्रेलियाले १० लाख अमेरिकी डलर नगद सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अष्ट्रेलियाले विशेषज्ञ तथा ड्रोन सञ्चालन गर्ने टोलीसमेत नेपाल पठाउने भएको छ ।
त्यस्तै, संयुक्त अरब इमिरेट्सले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने थप १ करोड अमेरिकी डलरसम्म सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कतारले ४० टन राहत सामग्री उपलब्ध गराएको छ ।
त्यसैगरी, बेलायतले ५० लाख पाउण्ड, युरोपेली संघले २० लाख युरो, स्विट्जरल्यान्डले १० लाख अमेरिकी डलर, डेनमार्कले ३५ लाख डेनिस क्रोनर, जर्मनीले २० लाख अमेरिकी डलर, आयरल्यान्डले ५ लाख युरो, चेक गणतन्त्रले २५ लाख चेक कोरुना र नर्वेले १ करोड २७ लाख नर्वेजियन क्रोन सहयोग गर्ने घोषणा गरेका छन् ।
त्यस्तै, फ्रान्सले प्रभावित क्षेत्रका २०० परिवारका लागि आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ भने लक्जेम्बर्ग र लाटभियाले पनि राहत सामग्री प्रदान गरेका छन् ।
प्रधानमन्त्री शाहले अझै कतिपय देशले सहयोगको प्रस्ताव गरिरहेको भन्दै नेपालको आवश्यकता पहिचान गरेर सहयोगका लागि प्रस्ताव अघि बढाइरहेको बताए ।
यसैगरी, विश्व बैंकबाट १६ करोड ७० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण, एसियाली विकास बैंकबाट बजेट सहयोगका लागि ५० लाख अमेरिकी डलर अनुदान तथा प्राविधिक सहयोगका लागि थप १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको उनले जानकारी दिएका छन् ।









