• २०८३ भदौ १९ शुक्रबार

आर्सनल छोडेर ब्राजिलियन फरवार्ड मार्टिनेली अल हिलालमा आबद्ध

आर्सनल छोडेर ब्राजिलियन फरवार्ड मार्टिनेली अल हिलालमा आबद्ध

काठमाडौँ । आर्सनलका ब्राजिलियन फरवार्ड गाब्रिएल मार्टिनेली साउदी प्रो लिग क्लब अल हिलालमा १२ अर्ब २७ करोड रुपैयाँभन्दा बढीको स्थानान्तरण शुल्कमा आबद्ध भएका छन् ।

योसँगै ब्राजिलका २५ वर्षीय खेलाडीको उत्तरी लन्डनमा रहेको सात वर्ष लामो बसाइ समाप्त भएको छ । उनले अल हिलालसँग लामो अवधिको सम्झौता गरेका छन् । 

मार्टिनेली सन् २०१९ मा ब्राजिलको इटुआनोबाट आर्सनल पुगेका थिए । आर्सनलसँग उनको सम्झौता अझै एक वर्ष बाँकी रहे पनि प्रशिक्षक मिकेल आर्टेटाले यस सिजनको योजनामा आफूलाई नराखेको स्पष्ट पारेपछि उनले क्लब छाडेका हुन् ।

अल हिलालमा आबद्ध भएपछि मार्टिनेलीले क्लबको सामाजिक सञ्जालमार्फत आफू अल हिलालको खेलाडी बनेकोमा गर्व लागेको बताएका छन् ।

अल हिलालमा उनले इङ्ल्यान्डका फरवार्ड ओली वाट्किन्ससँगै खेल्नेछन् । वाट्किन्स पनि एस्टन भिल्लाबाट अल हिलाल पुगेका थिए । त्यस्तै, वेस्ट ह्यामबाट नेदरल्यान्ड्सका विंगर क्रिसेन्सियो समरभिल पनि यसै सिजन अल हिलाल पुगेका छन्। क्लबको प्रशिक्षण सिमोने इन्जाघीले सम्हालिरहेका छन् ।

मार्टिनेलीले आर्सनलमा प्रतिहप्ता पाउँदै आएको भनिएको प्रतिसाता १ लाख ८० हजार पाउन्ड अर्थात् करिब ३ करोड ६८ लाख रुपैयाँभन्दा अल हिलालले उल्लेख्य रूपमा बढी पारिश्रमिक प्रस्ताव गरेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार उनले आर्सनलमा पाउने भन्दा डबल पारिश्रमिक पाउने छन् ।  

गत सिजन उनले सबै प्रतियोगितामा आर्सनलबाट ५३ खेल खेल्दै ११ गोल गरेका थिए । तर यस सिजनका सुरुआती दुई खेलका लागि घोषित टोलीमा उनलाई समावेश गरिएको थिएन । प्रशिक्षक आर्टेटाले क्लबमै रहे पनि उनलाई पर्याप्त खेल समय पाउन कठिन हुने संकेत गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै