काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका दुई जनामध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का व्यक्तिको अवस्था जटिल रहेको छ ।
जटिल अवस्थामा रहेका कबीर महर्जन रहेका छन् । मेकानिकल सुपरभाइजरका रूपमा कार्यरतउनलाई अगाडि नै छाउनी ल्याएर वीरेन्द्र सैनिक अस्पतालमा भर्ना गरी सघन उपचार जारी राखिएको छ ।
यस्तै, सुरुमा उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको अवस्था भने सामान्य रहेको नेपाली सेनाले जनाएको छ । स्वास्थ्य अवस्था स्थिर देखिएतापनि थप परीक्षणका लागि उहाँलाई पनि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमै लागिएको छ ।
नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य विज्ञहरुको संयुक्त टोलीले आज बिहानै उनीहरुको उद्धार गरेको हो।
आयोजनाभित्र मानिसहरु फसेको आशंकापछि बाढी गएलगत्तै लगातार उद्धारको प्रयास गरिएको थियो र अहिले पनि सुरुङमा अन्य व्यक्ति सकुशल रहेको उद्धार गरिएका शाहले जानकारी दिएपछि अहिले पनि उद्धारको प्रयास जारी राखिएको छ ।









