• २०८३ भदौ २१ आइतबार

ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशूली-३ए सुरुङबाट उद्धार गरिएका घाइते

ऊर्जामन्त्री श्रेष्ठले भेटे त्रिशूली-३ए सुरुङबाट उद्धार गरिएका घाइते

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका जलविद्युत् आयोजनाका कर्मचारीलाई भेटेका छन् ।

आइतबार छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुगेर मन्त्री श्रेष्ठले त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । उनले महर्जनका परिवारसँग समेत भेट गरी हौसला प्रदान गरेका थिए ।

मन्त्री श्रेष्ठले माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट उद्धार गरिएका चिनियाँ नागरिक तथा स्याफ्रुबाट उद्धार गरिएकी एक किशोरीलाई समेत भेटेका थिए । उनका अनुसार घाइतेहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र पानी तथा लेदोबाट भएका घाउ तथा चोटहरू निको हुँदै गएका छन् ।

श्रेष्ठले शारीरिक चोटसँगै प्रभावितहरूलाई मानसिक तथा मनोवैज्ञानिक परामर्श आवश्यक रहेको बताएका थिए । उनले घाइतेको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा उद्धारकर्मीलाई धन्यवाद दिएका थिए । अस्पतालका डा. कर्णेल कुमार रोकाले मन्त्री श्रेष्ठलाई घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै