नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई बेलकोटगढी नगरपालिकाले तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
नगरपालिकाले बाढीका कारण घर पूर्ण रूपमा क्षति भई बस्न योग्य नभएका, परिवारका सदस्य गुमाएका तथा बेपत्ता भएका नगरवासी परिवारलाई प्रतिपरिवार २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने जनाएको छ । प्रभावित परिवारका लागि आवश्यक राहत सामग्री तथा अस्थायी आवास केन्द्रको व्यवस्था पनि भइरहेको नगरपालिकाले जनाएको छ ।
त्यस्तै, बाढीका कारण खेतीयोग्य जमिन बगेर वा पुरिएर गुमाएका पीडित किसान परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले तत्काल राहत उपलब्ध गराउने निर्णय गरिएको छ । बाढीबाट घर पूर्ण रूपमा क्षति भएका तर नयाँ घर निर्माणका लागि अन्यत्र जग्गा नभएका अति विपन्न तथा विस्थापित परिवारको पहिचान गरी पुनःस्थापना तथा पुनर्वासको प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ ।
बाढीबाट घर पूर्ण रूपमा क्षति भएका, परिवारका सदस्य गुमाएका तथा बेपत्ता भएका परिवारको वास्तविक तथ्यांक सम्बन्धित वडाका अध्यक्ष र वडा सचिवमार्फत तीन दिनभित्र अनिवार्य रूपमा प्रमाणित गरी नगरपालिकामा उपलब्ध गराउन पनि भनिएको छ ।
यसैबीच, अस्थायी आवास केन्द्रसमेत स्थानान्तरण गर्ने निर्णय गरिएको छ । वडा नम्बर ७ स्थित शिलादेवी माध्यमिक विद्यालयमा रहेको अस्थायी आवास केन्द्र रातमाटे चर्चमा र वडा नम्बर ७ कै महादेव माध्यमिक विद्यालयमा रहेको अस्थायी आवास केन्द्र सोही विद्यालयको छात्रावासमा सारिने नगरपालिकाले जनाएको छ ।









