काठमाडौँ । बेलायती राजा चार्ल्स तृतीयले राजकुमार ह्यारी र उनकी पत्नी मेगन हाल कार्यरत राजपरिवारका सदस्य नरहेको स्पष्ट पारेका छन् । बेलायत फर्किए पनि उनीहरूले राजपरिवारको प्रतिनिधिका रूपमा कुनै औपचारिक कार्यक्रममा सहभागी हुन नपाउने भएका छन् ।
राजाको तर्फबाट दरबारका वरिष्ठ अधिकारी लर्ड चेम्बरलेनले पठाएको पत्रमा ह्यारी र मेगनलाई अझै पनि ‘एचआरएच’ अर्थात् राजकीय उच्चताको उपाधि प्रयोग गर्न नपाउने र निजी नागरिककै रूपमा रहने उल्लेख गरिएको छ ।
पत्र ह्यारीको टोलीसँगै सरकारी निकाय, सैन्य अधिकारी र राजाका स्थानीय प्रतिनिधिहरूलाई पठाइएको दरबार स्रोतले जनाएको बेलायती मिडियाहरुले उल्लेख गरेका छन् । ह्यारी र मेगनले गर्ने कुनै पनि सार्वजनिक कार्यक्रम निजी हैसियतमा हुने र त्यसमा उनीहरूले राजपरिवारको प्रतिनिधित्व नगर्ने पत्रमा स्पष्ट पारिएको छ । पत्रमा भनिएको छ- 'सन् २०२० जनवरीमा ड्युक र डचेसले सार्वभौमको प्रतिनिधिका रूपमा जिम्मेवारी निर्वाह गर्न छाडेका थिए र उनीहरू अब राजपरिवारका कार्यरत सदस्य होइनन् ।'
सन् २०२० मा बेलायत छाड्दा भएको ‘स्यान्ड्रिङ्घम सम्झौता’ अहिले पनि कायम रहेको दरबारले जनाएको छ । उक्त सम्झौताले राजपरिवारको सदस्यका रूपमा काम गर्दै व्यक्तिगत व्यावसायिक गतिविधि सञ्चालन गर्ने ‘आधा भित्र, आधा बाहिर’ को व्यवस्था अस्वीकार गरेको थियो । ह्यारी र मेगनले अमेरिकामा आर्थिक रूपमा आत्मनिर्भर जीवन बिताउँदै आएका थिए । ह्यारीले आफ्ना संस्मरण प्रकाशित गरेका थिए भने मेगनले खाद्य सामग्रीसम्बन्धी व्यवसाय अघि बढाएकी थिइन् ।
हालै दम्पती आफ्ना छोराछोरी आर्ची र लिलिबेटसहित बेलायत फर्किएका छन् । उनीहरूले यस शरद ऋतुमा आफ्ना परोपकारी गतिविधिका क्रममा सार्वजनिक कार्यक्रममा सहभागिता जनाउने अपेक्षा गरिएको छ । ह्यारीले आगामी वर्ष बर्मिङ्घममा हुने इन्भिक्टस खेलकुदलगायत परोपकारी कामलाई निरन्तरता दिने बताइएको छ ।
यसैबीच, बेलायतमा ह्यारी र मेगनको सुरक्षासम्बन्धी विवाद भने अझै समाधान भएको छैन । दरबारले सुरक्षा व्यवस्थासम्बन्धी विषय सम्बन्धित प्रहरी निकायमार्फत अघि बढाउनुपर्ने स्पष्ट पारेको छ ।
दरबारले पत्र सार्वजनिक गर्नुको उद्देश्य यस विषयमा पारदर्शिता कायम गर्नु र भविष्यमा पत्र चुहावटमार्फत सार्वजनिक हुन सक्ने अवस्था रोक्नु रहेको विश्लेषण गरिएको छ । ह्यारी र मेगनले भने यस विषयमा अझै कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।









