• २०८१ बैशाख १४ शुक्रबार

इद अल अधाको अवसरमा तालिबानद्वारा २९ कामदार मुक्त

kharibot

कान्दाहार (अफगानिस्तान) । अफगानिस्तानको एक निजी कम्पनीमा कार्यरत विभिन्न २९ जना कामदारलाई त्यहाँको सशस्त्र लडाकू समूह तालिबानले मुक्त गरेको छ । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको एक निजी कम्पनीमा कार्यरत ती कामदारलाई उनीहरुले मुस्लिम पर्व इद अल अधाको अवसर पारेर मुक्त गरिदिएका हुन् ।

कान्दाहारको एक कम्पनीमा कार्यरत उनीहरु तालिबानको अपहरणमा परेका थिए । उनीहरुलाई तालिबानहरुले आफ्नो हिरासतमा राखेको जानकारी दिएका थिए ।

गएको जुन महिनाको मध्यतिर उनीरुलाई नियन्त्रणमा लिएर तालिबानका लडाकूहरुले हिरासतमा राखिएको जनाएका थिए । बुधबार उनीहरुलाई तालिबान समूहका नेताको आदेशमा रिहा गरिएको बताइएको छ ।

कान्दाहार प्रान्तका प्रान्तीय गभर्नरका प्रवक्ता अजिज अहमदले दिएको जानकारीअनुसार इद अल अधाको अवसर पारेर तालिबानले २९ जना अफगान नागरिकलाई सरकारको जिम्मा लगाएका र बुधबार नै ती नागरिक उनीहरुका आफन्तसम्म पुग्ने बताए ।

अफगानिस्तान सरकारले यस इद अल अधाको अवसर पारेर युद्धविराम गरेको र तालिबानलाई पनि सो अवसरमा युद्धविराम गर्न आग्रह गरेको थियो । तर तालिबानहरुले भने सरकारको यो आग्रहलाई अस्वीकार गरिदिएका छन् ।

उनीहरुले सरकारको प्रस्तावमा आफूहरुले युद्धविराम नगर्ने जनाएका छन् । तर इदको अवसरमा उनीहरुको हिरासतमा रहेका व्यक्ति भने मुक्त गर्ने जनाएका छन् ।

आफ्नो हिरासतमा रहेका केही नागरिकलाई उनीहरुको असल आचरणको आधारमा मुक्त गरिने जानकारी तालिबानहरुले दिएका छन् । सोही नियमानुसार नै बुधबार २९ जनालाई मुक्त गरिएको हो ।

जनावरको कुर्वानी दिने चाडका रुपमा मनाइने इद अल अधा मङ्गलबारदेखि आगामी बिहीबारसम्म मुस्लिम देशमा विशेष रुपमा मनाउने गरिन्छ । यो मुस्लिम धर्मावलम्बीहरुको ठूलो चाड हो ।

रोहिङ्ग्याले पनि इद मनाए

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार म्यानमारबाट लखेटिएर बङ्गलादेशमा शरणार्थीका रुपमा बस्न बाध्य भएका म्यान्माली मुस्लिम समुदाय रोहिङ्ग्या नागरिकहरुले पनि शरणार्थी शिविरमै इद मनाइरहेका छन् ।

बङ्गलादेशको कोक्स बजामारमा निर्मित शरणार्थी शिविरमा बस्न करिब ७ लाख रोहिङ्ग्या शरणार्थीले निकै कष्टपूर्ण रुपमा ती शिविरमा जीवन बिताइरहेका छन् ।

उनीहरुको बसाई अत्यन्तै कष्टपूर्ण रहेपनि यस वर्षको इद मनाइरहेका समाचारहरु विभिन्न अन्तर्राष्ट्रिय समाचार समितिहरुले बङ्गलादेशबाट जनाएका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै