काठमाडौं । जापानको आइची–नागोयामा आयोजना हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरिएको छ ।
विहिबार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाली टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेका हुन् ।
असोज ३ देखि १८ गतेसम्म हुने प्रतियोगितामा नेपालबाट २१ खेलमा ७८ पुरुष र ५७ महिला गरी १३५ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । नेपालबाट प्रतियोगितामा २११ सदस्यीय टोली सहभागी हुँदैछ । टोलीमा २९ प्रशिक्षक, १७ व्यवस्थापक तथा खेल प्राविधिक, मेडिकल टोलीका ६ सदस्य, चार पत्रकार तथा विशिष्ट अतिथिसहित सेभ द मिसन, डेपुटी सेभ द मिसन र अन्य अधिकारी सहभागी हुनेछन् ।
नेपालले सन् १९५१ मा भारतमा भएको पहिलो एसियाली खेलकुददेखि सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करणमा एथलेटिक्सतर्फ नौ सदस्यीय टोली सहभागी भएको नेपालले यसपटक २१ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । नेपालले एसियाली खेलकुदमा पहिलो पदक सन् १९८६ मा दक्षिण कोरियाको सोलमा भएको १०औँ संस्करणमा जितेको थियो । त्यसयता नेपाल एसियाली खेलकुदबाट पदकविहीन भएर नफर्किएको जनाइएको छ ।
सरकारले खेलाडीको क्षमता विकासका लागि वैदेशिक प्रशिक्षण तथा अन्तर्राष्ट्रिय अनुभवको व्यवस्था गर्दै आएको जनाएको छ। विदेशमा प्रशिक्षणरत केही खेलाडी त्यहीँबाट जापान पुग्नेछन् भने नेपालमा रहेका खेलाडीलाई विदेशी प्रशिक्षकमार्फत प्रशिक्षण दिइएको छ ।
तीन वर्षदेखि विशेष प्रशिक्षणमा रहेका खेलाडीलाई पछिल्लो दुई महिनादेखि बन्द प्रशिक्षणमा राखेर प्रतियोगिताका लागि तयारी गराइएको जनाइएको छ ।
यसपटक कबड्डीमा सबैभन्दा बढी २४ खेलाडी सहभागी हुनेछन् । क्रिकेटमा १५, भलिबलमा १२, उसुमा १०, करातेमा आठ, बक्सिङमा सात तथा जुडो, एथलेटिक्स, टेबलटेनिस र कुस्तीमा समान ६–६ खेलाडी सहभागी हुनेछन् ।
खेल तालिकाअनुसार नेपाली खेलाडी जापान जाने क्रम सुरु भइसकेको छ । विभिन्न खेलका खेलाडी प्रतियोगिताको तालिकाअनुसार फरक–फरक मितिमा जापान पुग्नेछन् ।









