काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनःस्थापना तथा दीर्घकालीन पुनर्निर्माणका लागि जर्मनीले नेपाललाई ८० लाख युरोभन्दा बढीको सहायता उपलब्ध गराएको छ ।
जर्मनीले तत्कालका मानवीय आवश्यकता पूरा गर्नेदेखि स्वास्थ्य, ऊर्जा, खानेपानी तथा विपद् उत्थानशील पूर्वाधार निर्माणसम्मका क्षेत्रमा सहयोग गर्ने जनाएको छ । सहायता मानवीय, विकास तथा युरोपेली र बहुपक्षीय संयन्त्रमार्फत उपलब्ध गराएको हो ।
जर्मनीले नेपाल सरकारको अनुरोधमा युरोपेली सङ्घको नागरिक सुरक्षा संयन्त्रमर्फत ५ लाख युरोभन्दा बढी बराबरको आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ । राहत सामग्रीमा भान्साका सामान, त्रिपाल, झुल, खानेपानी आपूर्ति उपकरण र फोल्डिङ बेड रहेका छन्। यी सामग्री जर्मन प्राविधिक राहत संस्था, जर्मन जीवनरक्षा सङ्घ तथा जर्मनीको थुरिन्जिया राज्यले उपलब्ध गराएका हुन् ।
त्यस्तै, जर्मनीले विपद्बाट प्रभावित समुदायलाई तत्काल सहयोग गरिरहेका दुई नागरिक समाज संस्थालाई २ लाख युरो प्रत्यक्ष सहायता दिने भएको छ । त्यसमध्ये एउटा परियोजनाले बाढी प्रभावित गर्भवती महिला, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य र सुरक्षामा सहयोग गर्नेछ। परियोजनाअन्तर्गत आवश्यक सामग्री वितरण, स्वास्थ्य सेवामा पहुँच तथा सङ्क्रमण रोकथामका कार्यक्रम सञ्चालन गरिनेछन् ।
अर्को परियोजना युरोपेली सङ्घको मानवीय प्रतिकार्यअन्तर्गत सञ्चालन हुनेछ । यसमार्फत प्रभावित परिवारका लागि आयआर्जनका अवसर सिर्जना गर्न, पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न तथा विस्थापित परिवार बसिरहेका शिविरको अवस्था सुधार गर्न सहायता गरिनेछ ।
बाढीको प्रभाव दीर्घकालसम्म रहने भएकाले जर्मनीले विकास सहयोगअन्तर्गत थप ७३ लाख ५० हजार युरो परिचालन गरेको छ । उक्त सहयोग जर्मन सङ्घीय आर्थिक सहयोग तथा विकास मन्त्रालयले उपलब्ध गराउनेछ भने अन्तर्राष्ट्रिय सहयोगका लागि जर्मनीको सङ्घीय संस्थाले कार्यान्वयन गर्नेछ ।
नेपाल सरकारसँगको दीर्घकालीन साझेदारीलाई निरन्तरता दिँदै जर्मनीले स्वास्थ्य र ऊर्जा क्षेत्रमा सहयोग गर्ने जनाएको छ । अत्यावश्यक स्वास्थ्य सेवा, ऊर्जा तथा खानेपानी आपूर्तिमा पहुँच कायम राख्नुका साथै जलवायु तथा विपद् उत्थानशील पूर्वाधार निर्माणमा समेत सहयोग गरिनेछ ।
जर्मनीले भविष्यमा हुने प्राकृतिक विपद्को सामना गर्न नेपालको क्षमता बलियो बनाउन तथा विपद्प्रति थप उत्थानशील पूर्वाधार विकासमा पनि सहयोग गर्ने जनाएको छ । यसैगरी, संयुक्त राष्ट्रसङ्घको केन्द्रीय आपत्कालीन प्रतिकार्य कोष र युरोपेली सङ्घले पनि नेपालमा बाढीपछि मानवीय सहायता परिचालन गरेका छन्। जर्मनी यी दुवै संयन्त्रको प्रमुख योगदानकर्तामध्ये एक हो ।
जर्मनीले नेपालमा पहिले नै राहत तथा उद्धारका काममा संलग्न आफ्ना नागरिक समाज संस्थाको योगदानको समेत प्रशंसा गरेको छ। ती संस्थाले स्थानीय साझेदार तथा नेपाल सरकारसँग समन्वय गरी सबैभन्दा बढी आवश्यकता भएका समुदायसम्म सहायता पुर्याउने काम गरिरहेका छन् ।
जर्मनीले बाढीबाट प्रभावित नागरिक तथा उनीहरूका परिवारप्रति समवेदना व्यक्त गर्दै कठिन समयमा आफू नेपाल र नेपाली जनताको साथमा रहेको जनाएको छ । साथै, विपद्का बेला मानव जीवन र मर्यादाको रक्षा गर्ने साझा प्रतिबद्धतालाई सहायता कार्यक्रमले थप बलियो बनाउने जर्मनीले जनाएको छ ।









