• २०८३ भदौ २६ शुक्रबार

कान्तिपुर थिएटरका दुई नाटक दुई ठूला सहरमा पुनः मञ्चन हुँदै

कान्तिपुर थिएटरका दुई नाटक दुई ठूला सहरमा पुनः मञ्चन हुँदै

काठमाडौँ । प्राकृतिक विपत्तिका कारण केही दिन रोकिएका कान्तिपुर थिएटरका दुई चर्चित नाटक ‘समर लभ’ र ‘सेतो धरती’ आजदेखि पुनः मञ्चनमा आउने भएका छन् । काठमाडौँमा ‘समर लभ’ र पोखरामा ‘सेतो धरती’ मञ्चन हुनेछन् ।

दुवै नाटकका यस साताका चार दिनका लागि मात्र टिकट बुकिङ खुलाइएकोमा अग्रिम बुकिङ उत्साहजनक देखिएको छ। यसअघि पनि दुवै नाटकका अधिकांश प्रदर्शन दर्शकले भरिभराउ भएका थिए ।

‘समर लभ’ युवा लेखक सुविन भट्टराईको चर्चित उपन्यासमा आधारित प्रेमकथामा आधारित नाटक हो। गत साउन २९ गतेदेखि मञ्चनमा आएको यस नाटकको काठमाडौँमा हालसम्म ३१ प्रदर्शन भइसकेका छन्। नाटकबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोगसमेत गरिएको थियो। अभिनेता अर्पण थापाको रंगमञ्च पदार्पणले पनि नाटकलाई थप चर्चामा ल्याएको थियो ।

सम्राट भुजेलको निर्देशनमा तयार भएको ‘समर लभ’ कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको हो। करिब १ घण्टा ५० मिनेटको नाटक गैह्रीधारास्थित कान्तिपुर थिएटरमा दैनिक दिउँसो १ः१५ बजे र साँझ ५ः१५ बजे मञ्चन हुँदै आएको छ । त्यस्तै, अमर न्यौपानेको मदन पुरस्कार विजेता उपन्यासमा आधारित ‘सेतो धरती’ पोखरा थिएटर, गैह्रापाटनमा आजदेखि पुनः मञ्चन हुँदैछ। यसअघि काठमाडौँमा १०१ प्रदर्शनको कीर्तिमान बनाएको नाटक विराटनगरको आरोहण गुरुकुलमा समेत सफलतापूर्वक मञ्चन भइसकेको थियो ।

दर्शकको निरन्तर आग्रहपछि पोखरामा पुनः मञ्चन गर्न लागिएको ‘सेतो धरती’बाट पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख एक हजार रुपैयाँ सहयोग गरिएको थियो । सुन्दर धितालको परिकल्पना तथा निर्देशन रहेको ‘सेतो धरती’ करिब १ घण्टा ४० मिनेट लामो छ। आज पहिलो दिन साँझ ५ बजे एक प्रदर्शन हुनेछ भने त्यसपछि अन्य दिन बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे गरी तीन प्रदर्शन हुनेछन् ।

दुवै नाटकले नेपाली साहित्यका चर्चित कृतिलाई रंगमञ्चमा प्रस्तुत गर्दै साहित्य र रंगमञ्चबीचको सम्बन्धलाई थप बलियो बनाएका छन्। साथै, पछिल्लो समय नेपाली दर्शकमा रंगमञ्चप्रतिको बढ्दो आकर्षणलाई समेत यी नाटकले प्रतिबिम्बित गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै