• २०८३ भदौ २८ आइतबार

एआई विकासको गति घटाउन एन्थ्रोपिक प्रमुख अमोडेइको आग्रह

एआई विकासको गति घटाउन एन्थ्रोपिक प्रमुख अमोडेइको आग्रह

काठमाडौँ । एआई कम्पनी एन्थ्रोपिकका प्रमुख दारियो अमोडेइले कृत्रिम बुद्धिमत्ताको विकासको गति केही घटाएर त्यसको सुरक्षामा कडा निगरानी गर्न आग्रह गरेका छन् ।

शनिबार सार्वजनिक गरेको लेखमा अमोडेइले एआई विकास रोक्नुपर्ने नभई यसको बढ्दो जोखिम नियन्त्रण गर्न कम्पनी र सरकारलाई पर्याप्त समय दिनुपर्ने बताएका छन् । उनले एआई प्रणाली विकासकै क्रममा स्वतन्त्र निगरानी, उद्योगस्तरीय नियम र विश्वव्यापी नियमन लागू गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

अमोडेइको प्रस्तावलाई प्रतिद्वन्द्वी कम्पनीका प्रमुख ओपनएआईका साम अल्टम्यान र एलन मस्कले पनि समर्थन गरेका छन् । अल्टम्यानले स्वतन्त्र सुरक्षा मूल्याङ्कन आवश्यक रहेको बताएका छन् भने मस्कले अमोडेइको धारणा सही भएको बताएका छन् ।

पछिल्लो समय एआईको शक्तिशाली साइबर आक्रमण क्षमता र मानव नियन्त्रणबाहिर जान सक्ने सम्भावनाबारे चिन्ता बढेको छ । एन्थ्रोपिकका पूर्व अनुसन्धानकर्ता ज्याकोब कक्सनले एआई विकासको वर्तमान गति नघटाए मानव अस्तित्वमै गम्भीर खतरा आउन सक्ने चेतावनी दिएका छन् ।

अमोडेइले विकासको गति केही घटाउँदा एआईका जोखिम कम गर्ने प्रविधि विकासका लागि थप एक–दुई वर्ष प्राप्त हुन सक्ने बताएका छन्। तर उनले यस्तो कदम अमेरिका मात्र सीमित नभई चीनसहित विश्वभर समन्वयमा हुनुपर्ने धारणा राखेका छन् ।

यसबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने एआई विकास सुस्त पार्ने विषयमा चिन्ता व्यक्त गरेका छैनन् । उनले एआईको दौडमा अमेरिका पछि परे गम्भीर असर पर्ने बताएका छन् । एआई विकास सुस्त पार्ने प्रस्तावलाई केही आलोचकले भने सुरक्षाभन्दा पनि ठूला कम्पनीले यस क्षेत्रमा आफ्नो नियन्त्रण बढाउने प्रयासका रूपमा समेत व्याख्या गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै