काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले विपद्ले विनाश गरिसकेपछि क्षतिपूर्ति माग्नुभन्दा सम्भावित जोखिम पहिचान गरी त्यसको न्यूनीकरणमा लगानी बढाउनुपर्ने बताएकी छन् ।
घरपझोङ गाउँपालिकाले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सहयोगी निकाय तथा विज्ञहरूको सहभागितामा भदौ ३० र ३१ गते आयोजना गरेको घरपझोङ जलवायु परिवर्तन सम्मेलन, २०८३ को सफलताको शुभकामना दिँदै डंगोलले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि पूर्वतयारी र जोखिम रोकथामलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन् ।
उनले जलवायु परिवर्तनका कारण विश्वभर फरक–फरक स्वरूपमा नकारात्मक असर देखिन थालेको बताउँदै प्रकृति, प्राणी तथा वनस्पतिको प्रणाली र मानिसको जीवनशैलीमा समेत व्यापक परिवर्तन आएको उल्लेख गरेकी छन्। जलवायु परिवर्तनका असरको गहन मूल्यांकन गरी न्यूनीकरण तथा रोकथामका लागि विज्ञानमा आधारित उपाय अवलम्बन गर्न विश्वव्यापी रूपमा थप प्रभावकारी कदम चाल्न ढिला भइसकेको उनको भनाइ छ ।
जलवायु परिवर्तनका कारण उत्पन्न विपद्, रोगव्याधी, प्राकृतिक असन्तुलन, तापक्रममा अनपेक्षित वृद्धि तथा सांस्कृतिक पर्यावरण, जैविक विविधता र वासस्थानमा आएको परिवर्तनले विश्वको भविष्यप्रति नै चिन्ता बढाएको डंगोलले बताएकी छन् ।
जलवायु परिवर्तनका असरबारे छलफल गर्दा असर परिसकेपछि क्षतिपूर्ति दिनेभन्दा त्यसको कारण पहिचान गरी असर नै नपर्ने अवस्था सिर्जना गर्न लगानी बढाउनुपर्ने उनले बताएकी छन् । वातावरणीय न्याय उपचारात्मकभन्दा वितरणात्मक न्यायमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
हालै भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिलाई समेत ध्यानमा राख्दै आगामी दिनमा सम्भावित बाढी, पहिरो, भूक्षय, डुबान, खडेरी, अनावृष्टि, अतिवृष्टि तथा महामारीजस्ता विपद्को जोखिम घटाउने पूर्वाधारमा लगानी बढाउनुपर्ने डंगोलले बताएकी छन् ।
नेपालको हिमाल, पहाड, तराई, उपत्यका र बेँसी सबै क्षेत्र जलवायु परिवर्तनबाट प्रभावित हुन थालेको उल्लेख गर्दै उनले स्थानअनुसार प्रभाव र कारण फरक भए पनि कुनै क्षेत्र पूर्ण रूपमा सुरक्षित नरहेको बताएकी छन् ।
सम्मेलनमा जलवायु परिवर्तनका विभिन्न पक्षमा गहन छलफल हुने विश्वास व्यक्त गर्दै डंगोलले महत्वपूर्ण सम्मेलन आयोजना गरेकोमा घरपझोङ गाउँपालिकालाई बधाई तथा धन्यवाद दिएकी छन् । सम्मेलनमा भौतिक रूपमा सहभागी भएर योगदान गर्ने इच्छा हुँदाहुँदै पनि प्राविधिक कारणले उपस्थित हुन नसकेकोमा दुःख व्यक्त गर्दै उनले सम्मेलनको पूर्ण सफलताको शुभकामना दिएकी छन् ।









