काठमाडौँ । अमेरिकाले अन्तरिक्षमा हतियार तैनाथ गरेको पहिलोपटक औपचारिक रूपमा पुष्टि गरेको छ । अमेरिकी अन्तरिक्ष सेनाले पृथ्वीको कक्षमा अमेरिकी सेना रक्षाका लागि प्रयोग गर्न सकिने ‘कक्षीय अन्तरिक्ष नियन्त्रण हतियार’ तैनाथ गरिएको जनाएको हो ।
अमेरिकी वायुसेनाका सचिव ट्रोय माइनकले मेरिल्यान्डमा आयोजित वार्षिक वायु, अन्तरिक्ष तथा साइबर सम्मेलनमा यस्तो जानकारी दिएका हुन् । उनले अन्तरिक्षमा तैनाथ हतियार अमेरिकी सेनालाई शत्रु पक्षबाट हुन सक्ने सम्भावित आक्रमणबाट जोगाउन आवश्यक रहेको बताएका छन् । यद्यपि उनले हतियारको प्रकार र त्यसको संख्या भने खुलाएका छैनन् ।
अमेरिकी अन्तरिक्ष सेनाका अनुसार ती हतियारलाई बदलिँदो खतराविरुद्ध अन्तरिक्ष क्षेत्रमा नियन्त्रण कायम गर्न प्रयोग गर्न सकिन्छ । यसमा प्रत्यक्ष रूपमा क्षति पुर्याउने तथा अन्य माध्यमबाट शत्रुको अन्तरिक्ष क्षमतालाई प्रभावित पार्ने उपाय समावेश छन् । यस्ता क्षमता रक्षात्मक तथा आक्रामक दुवै प्रयोजनमा प्रयोग गर्न सकिने अमेरिकी पक्षले जनाएको छ ।
अमेरिकाले पछिल्लो समय क्षेप्यास्त्र तथा हवाई खतराबाट देशलाई जोगाउने ‘गोल्डेन डोम’ रक्षा प्रणालीका लागि अन्तरिक्ष क्षमताको विकासलाई तीव्र बनाइरहेको छ । अन्तरिक्षमा हतियार तैनाथ गरिएको घोषणा चीन र रुसतर्फ लक्षित चेतावनीका रूपमा समेत हेरिएको छ ।
अन्तरिक्षको सैन्यीकरण भने नयाँ विषय होइन। सन् १९५७ मा सोभियत संघले पहिलो कृत्रिम उपग्रह प्रक्षेपण गरेपछि नै अमेरिका र सोभियत संघले उपग्रहलाई हतियार बनाउने तथा नष्ट गर्न सक्ने प्रविधिको विकासमा काम थालेका थिए । सन् १९६७ को अन्तरिक्ष सन्धिले अन्तरिक्षको कक्षमा आमविनाशका हतियार तैनाथ गर्न प्रतिबन्ध लगाए पनि उपग्रहलाई लक्षित गर्ने सैन्य क्षमता विकासमा विभिन्न देशले काम गर्दै आएका छन् ।
अमेरिकी अन्तरिक्ष सेनाका अनुसार चीनले सैन्य आधुनिकीकरणको योजनाअन्तर्गत अन्तरिक्ष तथा प्रतिअन्तरिक्ष क्षमता विकास र सञ्चालन गरिरहेको छ । रुसले पनि अन्तरिक्षलाई युद्धको क्षेत्रका रूपमा हेर्दै आएको र भविष्यका द्वन्द्वमा अन्तरिक्षमा प्रभुत्व निर्णायक हुन सक्ने विश्वास राखेको अमेरिकी पक्षको दाबी छ ।









