• २०८३ असोज १ बिहीबार

राष्ट्रिय विज्ञान दिवसको सन्दर्भ र बहस

राष्ट्रिय विज्ञान दिवसको सन्दर्भ र बहस

आज असोज १ गतेका दिन नेपालमा राष्ट्रिय विज्ञान दिवस मनाउँदै छौँ । हामी वर्षको एकदिन मात्र भए पनि आफ्ना लेखहरूमा, सरकारी स्तरबाट हुने कार्यक्रमका भाषणहरूमा विज्ञान, प्रविधि र नवप्रवर्तनको खाँचो रहेको, यो क्षत्रमा लगानी बढाउनुपर्ने, जनशक्ति उत्पादन गर्ने भनेर आफ्ना विचारहरू प्रकट गर्दछौँ । हुन पनि हो ढिलै भए पनि हामीलाई यो कुराको बोध भएको हो भने राम्रै कुरा हो । हरेक देशको उन्नती र विकासमा विज्ञान र प्राविधिक शिक्षाको ठूलो महत्व रहँदै आएको छ । 

मानव सभ्यताको विकासको क्रममा जीवनलाई सहज बनाउन आफूले भोगेका अनुभव र प्रयोगबाट विस्तारै विस्तारै प्रविधिहरूको विकास हुँदै आयो । नयाँ नयाँ ज्ञान विज्ञानका अनुभव र सीपहरूलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नका लागि तिनलाई सांकेतिक रूपमा र पछिबाट क्रमशः लिपीहरूको विकास हुँदै जाँदा अभिलेखीकरणको कार्य आरम्भ भयो । त्यसैको फलस्वरूप आज हामी हाम्रा पुर्खाका ज्ञान, विज्ञान र सीपका कुराहरूलाई पढ्न र बुझ्न सक्दछौँ । विज्ञान प्रविधिका विभिन्न आयामहरूलाई समेटिएका हाम्रा पुर्खाहरूले जगेर्ना गरेका मौलिक कुराहरूलाई संरक्षण गर्दै, स्तरोन्नति गर्दै लैजाने र तिनको माध्यमबाट विभिन्न क्षेत्रमा व्यवसायीकरण गर्न सकिएमा आर्थिक उन्नतिमा उल्लेखनिय भूमिका निर्वाह गर्न सक्दछ ।

आज १४ औं विज्ञान दिवस मनाइरहँदा नेपालमा विज्ञान–प्रविधिको गहिरो समिक्षा हुनु आवश्यक छ । हाम्रा विश्वविद्यालयहरू, पठन पाठन, पाठ्यक्रम तथा अनुसन्धानको पाटो यी सबै विषयहरूमा खुला वहस को माग गर्दछ । नेपाल सरकारले विज्ञान प्रविधिको पाटोलाई कसरी बुझेको छ र देशलाई अग्रगाामी दिशामा अघि बढाउन के कस्ता नीति तथा कार्यक्रमहरू ल्याएको छ र बजेट कति र कसरि विनियोजन गरिएको छ यो सबै कुरा जनसमक्ष आउनु पर्दछ  । देश विकासको लागि नभै नहुने प्राविधिक जनशक्ति उत्पादन गर्न विज्ञान शिक्षाको अति नै महत्व भएको कुरा स्थापित सत्य हो । यो कुनै दिन विशेषमा मात्र संझिने र चर्चा गर्ने विषय नभएर वर्षै भरि अन्योन्याश्रित हिसाबले गाँसिएको विषय हो । जनमानसमा विज्ञान प्रविधिको महत्व स्थापित गर्नका लागि र छलफलको मूख्य विषय बनाउनको लागि राष्ट्रिय विज्ञान दिवस मनाउने क्रममा १३ वर्ष भर्खर पार गरिएको छ । हाम्रै छिमेकी देश भारतका वैज्ञानिकहरूले विश्व प्रतिष्ठित पुरस्कार प्राप्त गरेर संसारभर यश फैलाइरहँदा त्यहिं भारतका भौतिकशास्त्री सी भी रमणले सन् १९२८ मा नोबेल पुरस्कार प्राप्त गरेको दिन फेब्रअरी २८, लाई राष्ट्रिय विज्ञान दिवसको रूपमा मनाउने गरेको छ ।  राम्रो काम गर्न कहिले पनि ढिलो नहुने हुँदा हामी पनि निरन्तर मनाउँदै छौँ र यस क्षेत्रमा भए गरेका कामहरू, हाम्रा अवस्थाहरूको यस अवसरमा वस्तुगत समिक्षाको पनि अपेक्षा गरिनु स्वाभाविकै हो ।

देशमा रहेका प्राकृतिक श्रोत साधनहरूको पहिचान गरी त्यसमा अनुसनधान गरी खास तथ्यहरू पत्ता लगाएर राष्ट्रलाई उच्चतम प्रतिफल दिन भनेर खोलिएका विज्ञान प्रविधि सम्बन्धी अनुसन्धान केन्द्रहरू, अध्ययन संस्थानहहरू, विश्वविद्यालयहरू खोलिएका हुन्छन् । विश्वविद्यालयहरू वा यस्तै सस्थानहरू खोलिनु राम्रै देखिएता पनि अहिले विना कुनै तैयारी धमाधम उच्च शैक्षिक संस्थाहरू खोलिदै गरेको, भवनअरू वहाल (भाडा) मा लिएर कार्यालयहरू स्थापना गरिदैँ गरिएको अवस्था छ । वैज्ञानिक अनुसन्धानको लागि भनेर खोलिएका संस्थाहरू रूग्ण बन्दै गइराखेका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को भूमिका पनि आवश्यक बजेट अभावमा पूर्ण क्षमतामा अगाडि बढ्न नसकेको प्रतित हुन्छ । केहि परिणाममुखी कार्य गर्न वैज्ञानिकहरूलाई वृत्ति विकास र बढुवाबाट बञ्चित बनाइएको अवस्था छ । त्यसैगरी देशको सबैभन्दा पुरानो र अत्यधिक भार वहन गरिराखेको छ दशक पहिलेबाटै विज्ञानका विभिन्न विषयहहरूको पढाइ भएको त्रिभुवन विश्वविद्यालयको व्यवहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्र (रिकास्ट), यसका केन्द्रीय विभाग तथा क्याम्पस स्तरका प्रयोशालाहरू पनि आवश्यक संसाधनको कमिले गर्दा रूग्ण बन्दै गइराखेका छन् भन्दा अत्यूक्ति नहोला ।विज्ञान दिवस मनाइँदै गर्दा यी विषयहरूमा ध्यान दिन सकिएन र सरकारको तर्फबाट उचित ध्यान दिइएन भने यस्ता दिवसहरू कर्मकाण्डी मात्र बन्न जाने कुरामा शंका छैन ।

नेपालमा नयाँ खुलेका विश्वविद्यालयहरूले स्थानिय आवश्यकतालाई ध्यानमा राखेर नयाँ किसिमका शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुपर्दछ, तर अधिकांशमा उही त्रिभुवन विश्वविद्यालयमा सञ्चालनमा रहेका कार्यक्रमहरू नै सञ्चालन गर्ने भएपछि नयाँ खुलेका विश्वविद्यालयहरूले विद्यार्थी र अभिभावकहरूको उल्लास मनकासाथ विश्वास प्राप्त गर्न सकेको देखिँदैन । नेपाल र विश्वमा चाहिएका, मागहरू भएका विषयहरू समेटेर नयाँ नयाँ कार्यक्रमहरू सञ्चालन गर्दा सरकारी अनुदानमा मात्रै निर्भर नरहि आफ्नो छुट्टै प्रकारले आर्थिक जोहो गर्न सक्ने पनि मेसो मिल्न सक्थ्यो । राष्ट्रलाई चाहिएको दक्ष जनशक्ति, उत्पादनमा नयाँ खुलेका शिक्षण संस्थाहरूले २१ औैँ शताब्दीको मागलाई पूरा गर्नेगरी कार्यक्रम र पाठ्यक्रम ल्याउन सक्नु पर्दछ ।  नत्र भने आसातित सफलता प्राप्त हुने कुरामा पर्याप्त आशंका उत्पन्न हुन जान्छ । 

हाम्रा विज्ञान सम्बन्धी विभिन्न शैक्षिक संस्थाहरू स्तरोन्नतिमा लाग्नुको विकल्प छैन । यसको लागि चाहिने जनशक्ति र बजेटको कुरामा सरोकारवाला पक्षले पन्छिन मिल्दैन । अहिले शैक्षिक संथाहरूलाई दक्ष जनशक्ति चाहिएको छ तर आवश्यक तालिम र ज्ञान लिएर स्वदेश फर्कि आएका विद्यावारिधि गरेका जनशक्तिलाई हाम्रा विश्वविद्यालयहरूले र नेपाल सरकारको विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले चिन्न सक्नु पर्दछ । यसले दुई किसिमले राष्ट्रलाई घाटा भइरहेको छ, एकातिर दक्ष जनशक्ति भनौं विज्ञको अभावले पठनपाठन र अनुसन्धान, समस्याको सम्बोधन हुन नसकेर नोक्सानी भइराखेको छ भने अर्कोतिर व्यक्ति स्वयंलाइ आफ्नै राष्ट्रले योग्य व्यक्ति भनेर चिन्ने वातावरण नबन्दा देश प्रति नै निरासा उत्पन्न भई सधैंका लागि विदेशतिर पलायन हुने खतरा बढिराखेको छ ।

नेपाली विशवविद्यालयहरू तथा अनुसन्धान केन्द्रहरूमा अनुसन्धानको स्तर उकास्नको लागि सरकारको तर्फबाट केहि उल्लेख्य लगानि हुनु आवश्यक छ । यो लगानि विभिन्न किसिमको हुनु सक्दछ । नेपाल सरकारले विज्ञान कूटनीति मार्फत् विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ लगानी भित्र्याउन विशेष रणनीति बनाउनु पर्दछ । विदेशका नाम चलेका वैज्ञानिक संस्थाहरूसित वैज्ञानिकहरू आदानप्रदान कार्यक्रम संचालनको लागि समझदारी गर्नु आवश्यध छ । नेपालका विभिन्न देशहरूमा रहेका राजदुतावासहरूलाई यस कार्यमा सहजिकरणको लागि पहल लिन लगाउनु पर्दछ । हाम्रा राजदुतहरूले यस कार्यमा सहयोग त गर्न सक्ने स्थानमा छन् तर उनीहरूको नियुक्ति कुन आधारमा हुन्छ र विज्ञान प्रविधिको महत्वलाई कुन तहसम्म बुझ्न सक्दछन् भन्ने कुरा मुख्य हुन जान्छन् । विज्ञान प्रविधिको क्षेत्रमा केहि सहयोगहरू प्राप्त हुन सक्छन् । विज्ञान कुटनीतिको माध्यमाट नेपाली जनशक्तिको ज्ञान र सीप अभिवृद्धि र उत्पादनमा विज्ञान कुटनीतिको माध्यमबाट ठूलो सहयोग जुट्न सक्दछ । हालै मात्र गत भदौ १० गते देशले भोगेको भयानक जनधनको क्षति न्यूनिकरण तथा उद्धारमा विज्ञान कुटनीतिको माध्यमबाट ठूलो सहयोग प्राप्त हुन सक्दछ ।

विदेशमा  रहेका प्राज्ञिक व्यत्तिहरू सबै र खासगरी वैज्ञानिक र अनुसन्धानविद्हरूलाई नेपाल आउने, विदेशी वैज्ञानिकहरूको सहकार्यमा पनि अनुसन्धान कार्यलाई अगाडि बढाउन राजदुतावास मार्फत् सम्बन्धित देशका शिक्षण संस्थाहरूमा पहल गर्नसक्ने उच्च स्तरका बौद्धिक व्यक्तिहरूले नेतृत्व गर्ने अवस्थामा मात्र विज्ञान कुटनीतिले सार्थकता पाउने छ । १४ औँ राष्ट्रिय विज्ञान दिवसले विज्ञान कर्मीलाई प्रोत्साहित गर्न प्रेरणा दिन सकोस् यहि शुभकामना छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै