काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बसमा भएको आगलागीमा गम्भीर घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उनको गएराति मृत्यु भएको हो ।
सोमबार दिउँसो त्रिपुरेश्वरचोकको बस स्टपमा रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो । आगलागी हुनुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद भएको भिडियोसमेत सार्वजनिक भएको थियो ।
अस्पतालका अनुसार चालकको शरीरको करिब ९० प्रतिशत भाग जलेको थियो । प्रहरीले सुरुमा उनको नाम दावा लामा भएको बताए पनि मृतकको परिचयबारे थप विवरण खुल्न बाँकी रहेको जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा चालक आफैँले बसमा आगो लगाएको देखिएको बताइएको छ । घटनाबारे जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरीले छुट्टाछुट्टै छानबिन गरिरहेका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले वरिष्ठ प्रहरी उपरीक्षक रमेश बस्नेतको नेतृत्वमा समिति गठन गरेको छ । समितिलाई पाँच दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।









