काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा नेपालको वैदेशिक व्यापार ४ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।
साउन-भदौमा कुल ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँको वस्तु आयात हुँदा निर्यात ७६ अर्ब ५९ करोड रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात ३१.५८ प्रतिशतले बढेको छ । गत वर्ष पहिलो दुई महिनामा ३ खर्ब ५ अर्ब १६ करोड रुपैयाँको आयात भएकोमा चालु आर्थिक वर्षमा यो बढेर ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेको हो ।
यस अवधिमा निर्यात भने ६१.८६ प्रतिशतले बढेको छ । गत वर्ष साउन–भदौमा ४७ अर्ब ३२ करोड रुपैयाँको निर्यात भएकोमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।
आयातको तुलनामा निर्यात अझै निकै कम रहेकाले दुई महिनामै व्यापार घाटा ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा व्यापार घाटा २ खर्ब ५७ अर्ब ८४ करोड रुपैयाँ थियो। आयात–निर्यात अनुपात भने ६.४५ बाट घटेर ५.२४ पुगेको छ ।









