धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको शीतल बजार क्षेत्र दुईतर्फी यातायात सञ्चालनका लागि योग्य भएको छ ।
त्रिशूली नदीमा गत भदौ १४ गते आएको बाढीका कारण नदी कटानबाट शीतल बजार क्षेत्रमा सडक क्षतिग्रस्त भएपछि उक्त सडकखण्डमा एकतर्फी यातायात सञ्चालन हुँदै आएको थियो।
सडकलाई पुनः दुईतर्फी सञ्चालनमा ल्याउने उद्देश्यले सडकको भित्तातर्फ रहेको करिब ५५ मिटर कडा चट्टान हटाइएको छ । नेपाली सेनाको प्राविधिक सहयोगमा ड्रिलिङ तथा विस्फोटक पदार्थ प्रयोग गरी भदौ २६ गतेदेखि असोज ७ गतेसम्म २१ पटक चट्टान विस्फोट गरी हटाउने काम सम्पन्न गरिएको नागढुंगा मुग्लिङ सडक योजनाले जनाएको छ ।
हाल उक्त सडकखण्ड सहज, सुरक्षित तथा दुईतर्फी यातायात सञ्चालनका लागि योग्य भएको जनाइएको छ । चट्टान हटाउने क्रममाउच्च जोखिमका बीच नेपाली सेना तथा प्राविधिक टोली १३ दिनसम्म खटेको थियो ।









