• २०८३ असोज ८ बिहीबार

एमाले केन्द्रीय कमिटी बैठक: भण्डारी दोस्रो वरियतासहित वरिष्ठ नेता, अन्य निर्णय के के गर्यो ?

एमाले केन्द्रीय कमिटी बैठक: भण्डारी दोस्रो वरियतासहित वरिष्ठ नेता, अन्य निर्णय के के गर्यो ?

काठमाडौं । नेकपा एमालेको तेस्रो केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गर्दै पार्टीभित्र महत्वपूर्ण निर्णय गरेको छ ।

असोज ५ देखि ८ गतेसम्म ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बसेको बैठकले पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेतामा मनोनित गरेको छ ।

बैठकले सात जनालाई स्थायी कमिटी सदस्य चयन गर्नुका साथै ११औँ महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनित हुन बाँकी सदस्यहरूलाई मनोनित गरेको छ। ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापा स्थायी कमिटी सदस्य चयन भएका छन् ।

त्यस्तै मनोनित केन्द्रीय सदस्यहरुमा काशीनाथ अधिकारी–चितवन, देवराज घिमिरे–झापा, हरि रिजाल–प्यूठान, पासाङ शेर्पा–ताप्लेजुङ, नरेन्द्र भट्टराई–ईलाम, नन्दराम देवकोटा–खोटाङ, धर्म गिरी–प्यूठान, नारायण घर्ती–जाजरकोट, विद्यासुन्दर शाक्य–काठमाडौं, शान्तिलाल महत–जुम्ला, पोल्तेन छेपाङ गुरूङ–मनाङ, प्रेम दङ्गाल–काठमाडौं, सुरेन्द्र उदास–भोजपुर, विनोद पाण्डे–काठमाडौं, पुष्पराज श्रेष्ठ–सिन्धुली, विमला घिमिरे–कपिलवस्तु, शिवमाया तुम्वाहाम्फे–मोरङ, कौशिला खत्री–जाजरकोट, जानुका सिम्खडा–धादिङ, बिना बास्तोला–भक्तपुर रहेका छन् ।

त्यसैगरी पार्टीमा समायोजन भएका मध्येबाट केन्द्रीय सदस्य हुनेहरुमा मोहम्मद इस्तियाक राई–बाँके, प्रदीप यादव–पर्सा, अब्दुल हुसैन अंसारी–सुनसरी, डिबी कार्की–स्यांङ्जा, भवानी खापुङ–तेह्रथुम, दीपक साउद–अछाम, जय गोल (तामाङ)–काठमाडौँ, धर्मराज निरौला–सुनसरी, रवि चामलिङ–खोटाङ, विनोद पहाडी–रुपन्देही, श्रीप्रसाद शर्मा–बागलुङ, रामप्रीत राम–सिराह, ध्रुव विष्ट–भक्तपुर रहेका छन् ।   

बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन माग गरेको छ। एमालेले बाढीमा १ हजार ४ सयभन्दा बढीको ज्यान गएको र ६ हजारभन्दा बढी अझै बेपत्ता रहेको उल्लेख गर्दै विस्थापित बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई केन्द्रमा राखेर पुनर्स्थापनाको काम अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

समसामयिक राजनीतिक विषयमा बैठकले सरकारमाथि विभिन्न आरोप लगाउँदै भदौ २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिनका लागि सक्षम न्यायिक आयोग गठन गर्न माग गरेको छ। एमालेले पार्टी अध्यक्ष ओली र उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोधका रूपमा व्याख्या गर्दै सरकारको आलोचना गरेको छ। त्यस्तै, सुकुम्बासी विस्थापन, मानव अधिकार तथा मिडिया स्वतन्त्रताका विषयमा पनि बैठकले सरकारको आलोचना गरेको छ ।

बैठकले महँगी नियन्त्रण, खाना पकाउने ग्यासको सहज आपूर्ति र बढाइएको कर फिर्ता लिन माग गरेको छ। साथै राष्ट्रिय हित, लोकतन्त्र र संविधानको रक्षा तथा जनताका सवालमा देशभक्त, लोकतन्त्र र संविधान पक्षधर राजनीतिक दल, नागरिक तथा बौद्धिक समुदायसँग संवाद र सहकार्यका लागि आह्वान गरेको छ ।

बैठक समापन गर्दै अध्यक्ष ओलीले एमाले उन्नतस्तरको समझदारी र सुदृढ एकता भएको पार्टीका रूपमा प्रस्तुत भएको बताएका थिए। बैठकले स्थायी कमिटी पूर्णता, पोलिटब्युरो गठन, सल्लाहकार परिषद्, विभाग तथा ज्येष्ठ कम्युनिस्ट मञ्च गठनसम्बन्धी बाँकी कामको निर्णय गर्ने अधिकार सचिवालयलाई दिएको छ। पार्टीको आन्तरिक एकता सुदृढ गर्दै पुनर्जागरण र सुदृढीकरणका योजनासहित आगामी दिनमा लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीमा केन्द्रित हुन बैठकले पार्टी पंक्तिलाई आह्वान गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै