• २०८३ असोज ९ शुक्रबार

भारी वर्षापछि उच्च सतर्कतामा, उद्धारदेखि आपूर्तिसम्म तयारी

भारी वर्षापछि उच्च सतर्कतामा, उद्धारदेखि आपूर्तिसम्म तयारी

काठमाडौं । देशभर भइरहेको भारी वर्षाका कारण हुन सक्ने बाढी, पहिरो र अन्य विपद्जन्य जोखिमबाट नागरिकको धनजन जोगाउन सरकारले उच्च सतर्कताका साथ पूर्वतयारी तथा प्रतिकार्य अघि बढाएको जनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले अमेरिका प्रस्थान गर्नुअघि आवश्यक सावधानी अपनाउन दिएको निर्देशनअनुसार सम्बन्धित मन्त्रालय र निकायहरू परिचालन गरिएको बताइएको छ ।

कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे छलफल गर्दै मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सबै मन्त्रालय र मातहतका निकायलाई उच्च सतर्कतामा राखिएको बताएका छन् । गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा संयन्त्र तयारी अवस्थामा राख्न निर्देशन दिएको छ भने नदी तटीय क्षेत्रमा माइकिङ, जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण तथा अस्पताल र एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ ।

सरकारले विद्यालय, स्वास्थ्य, पर्यटन, खाद्यान्न तथा इन्धन आपूर्ति र सडक सुरक्षालाई समेत प्राथमिकतामा राखेको छ। असोज ९ देखि ११ गतेसम्मका तोकिएका परीक्षा स्थगित गर्न सकिने, सुरक्षित विद्यालय भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्ने, अस्पतालमा जनशक्ति, औषधि र एम्बुलेन्स २४ घण्टा तयारी अवस्थामा राख्ने तथा खाद्यान्न र इन्धनको नियमित आपूर्ति सुनिश्चित गर्ने व्यवस्था गरिएको छ। जोखिमयुक्त सडकखण्डमा भारी उपकरण परिचालन गरी रातिको समयमा जोखिमपूर्ण सडक सञ्चालनमा रोक लगाइएको जनाइएको छ ।

यस्तै, प्रमुख नदीमा पाँच दिन र साना नदीमा ४८ घण्टा अगावै बाढी पूर्वसूचना दिने व्यवस्था गरिएको छ । विद्युत् अवरुद्ध भए तत्काल सेवा सञ्चालनका लागि कर्मचारी तयारी अवस्थामा राखिएको छ भने किसानका लागि विशेष कृषि मौसम सल्लाह जारी भइरहेको छ । असोज ११ गतेसम्म स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिइएको छ । आपत्कालीन अवस्थामा मौसम तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, जिल्ला आपत्कालीन केन्द्र १२३४, हेलो सरकार ११११, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी १११४ मा सम्पर्क गर्न सकिने जनाइएको छ  ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै