काठमाडौं । नेपाल र नामिबियाबीच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र नामिबियाका अन्तर्राष्ट्रिय सम्बन्ध तथा व्यापारमन्त्री सेल्मा आशिपाला–मुसाभीबीच आज संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना गरिएको हो ।
संयुक्त राष्ट्रसंघको मुख्यालयमा संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ अधिवेशनका अवसरमा आयोजित संक्षिप्त हस्ताक्षर समारोहअघि दुवै मन्त्रीले आपसी हितका विभिन्न विषयमा छलफल गरेका थिए ।
छलफलका क्रममा नेपालमा हालै आएको विनाशकारी जलवायुजन्य विपद्बाट परेको असरबारे पनि विचार आदानप्रदान भएको थियो। साथै, नेपाल र नामिबियाबीच द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्दै दुवै देश र जनताको साझा प्रगति तथा समृद्धिका लागि नयाँ सम्भावनाको खोजी गर्नुपर्नेमा दुवै मन्त्रीले जोड दिएका थिए ।
नामिबियासँग कूटनीतिक सम्बन्ध स्थापना भएसँगै नेपालको कूटनीतिक सम्बन्ध विस्तार भएका देशको संख्या १८७ पुगेको छ।









