• २०८३ असोज १२ सोमबार

अस्ट्रेलियामाथि दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, एक खेल अघि जित्यो सिरिज

अस्ट्रेलियामाथि दक्षिण अफ्रिकाको लगातार दोस्रो जित, एक खेल अघि जित्यो सिरिज

काठमाडौँ । दक्षिण अफ्रिकाले अस्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा ३२ रनको जित हात पारेको छ । जितसँगै दक्षिण अफ्रिकाले सिरिजमा २–० को अग्रता बनाउँदै एक खेल बाँकी छँदै सिरिज आफ्नो पक्षमा पारेको छ ।

जोहानेसबर्गमा टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६५ रनको विशाल योगफल बनाएको थियो । दक्षिण अफ्रिकाका कप्तान तेम्बा बावुमाले ११६ बलमा १०३ रन बनाए भने डेभिड मिलरले आक्रामक ब्याटिङ गर्दै ९३ बलमा १४२ रनको शानदार पारी खेलेका थिए । मिलरले आफ्नो पारीमा १२ चौका र ९ छक्का प्रहार गरेका थिए । बावुमा र मिलरले चौथो विकेटका लागि १५६ रनको महत्वपूर्ण साझेदारी गर्दै दक्षिण अफ्रिकालाई बलियो अवस्थामा पुर्‍याएका थिए ।

३६६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले सुरुवात भने उत्कृष्ट गरेको थियो । मिचेल मार्स र ट्राभिस हेडले पहिलो विकेटका लागि १३० रनको साझेदारी गरेका थिए । दुवैले समान ८४ रन बनाए । मार्सले ५३ बलमा १० चौका र ५ छक्का प्रहार गरेका थिए भने हेडले ७६ बलमा १२ चौका र एक छक्का प्रहार गरे । तर ओपनरद्वय आउट भएपछि अस्ट्रेलियाको मध्यक्रम दक्षिण अफ्रिकाका स्पिनरविरुद्ध टिक्न सकेन । अस्ट्रेलियाका जाभियर बार्टलेटले २८ बलमा ५० रन बनाएर खेलमा पुनः आशा जगाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन् । अस्ट्रेलिया ४९ ओभर ५ बलमा ३३३ रनमा अलआउट भयो । दक्षिण अफ्रिकाका लिजाड विलियम्सले ३ विकेट लिए भने केशव महाराज र ब्योर्न फोर्टुइनले समान २–२ विकेट लिए ।

दक्षिण अफ्रिकाका लागि १४२ रनको उत्कृष्ट पारी खेलेका डेभिड मिलर खेलको उत्कृष्ट खेलाडी घोषित भए । दक्षिण अफ्रिकाले लगातार दोस्रो खेलमा अस्ट्रेलियालाई पराजित गर्दै तीन खेलको सिरिज २–० ले जितिसकेको छ । अब तेस्रो तथा अन्तिम एकदिवसीय खेल बुधबार पोट्चेफस्ट्रुममा हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै