काठमाडौँ । हङकङविरुद्धको क्वार्टरफाइनल खेल वर्षाका कारण रद्द भएपछि पाकिस्तान जापानमा जारी एसियाली खेलकुदको पुरुष क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कोरोगी खेलकुद पार्कमा हुने भनिएको खेल लगातार वर्षाका कारण टससमेत नभई रद्द भएको थियो । पाकिस्तानको अन्तर्राष्ट्रिय टी-२० वरीयता हङकङभन्दा माथि रहेकाले पाकिस्तानलाई विजेता घोषित गर्दै सेमिफाइनलमा प्रवेश गराइएको हो ।
पाकिस्तानसँगै भारत, बंगलादेश र श्रीलंकाले वरीयताका आधारमा क्वार्टरफाइनलमा सिधै स्थान बनाएका थिए । हङकङ समूह ‘बी’ को उपविजेता हुँदै अन्तिम आठमा पुगेको थियो ।
आजै क्वाटरफाइनलको अर्को खेल भारत र अफगानिस्तानबीच हुने तालिका रहेको छ । त्यस्तै नेपाल र श्रीलंका तथा बंगलादेश र मलेसियाबीचको क्वाटरफाइनल खेल भोलि हुदैछ ।
पाकिस्तानको सेमिफाइनल खेल अक्टोबर १ मा हुनेछ । कांस्य पदकको खेल र फाइनल अक्टोबर ३ मा आयोजना हुनेछ ।









