काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार अबुधाबी पुगेर संयुक्त अरब इमिरेट्स (यूएई)का राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँग भेटवार्ता गरेका छन् ।
इजरायली एक वरिष्ठ अधिकारीका अनुसार नेतन्याहुको यो भ्रमण पूर्वघोषित थिएन । इजरायली सञ्चारमाध्यमले पनि नेतन्याहुले एकदिने भ्रमणका क्रममा अबुधाबीमा राष्ट्रपति शेख मोहम्मदसँग भेट गरेको जनाएका छन् ।
यो भेट अक्टोबर ७, २०२३ को हमास आक्रमणअघि यूएई राष्ट्रपतिले नेतन्याहुलाई सम्भावित ठूलो आक्रमणबारे चेतावनी दिएको भन्ने हालैको समाचारपछि भएको हो । नेतन्याहुले उक्त दाबी अस्वीकार गर्दै आएका छन् । यूएईले भने यस विषयमा प्रत्यक्ष प्रतिक्रिया दिएको छैन ।
इजरायल र यूएईले सन् २०२० मा अब्राहम सम्झौतामार्फत कूटनीतिक सम्बन्ध स्थापना गरेका थिए । पछिल्लो भेट क्षेत्रीय तनाव बढिरहेका बेला भएको हो ।









