काठमाडौँ । नेपालले एसियाली खेलकुदको पुरुष क्रिकेट प्रतियोगिताको क्वाटरफाइनलमा आज नेपाल र श्रीलंका आमने सामने हुदैछन् ।
जापानको निसिन सहरस्थित कोरोगी खेलकुद पार्कमा हुने यो खेल नेपाली समय अनुसार आज बिहान ५: ४५ बजेदेखि शुरु हुदैछ ।
यसअघि क्वाटरफाइनलका दुवै खेल बर्षाले रद्ध भएका थिए भने आजको खेल पनि बर्षाले प्रभावित हुने सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान अनुसार बदली भई केही समय वर्षा हुने सम्भावना रहेको छ । मौसम पूर्वानुमानअनुसार दिनभर बादल लाग्ने र बीचबीचमा वर्षा हुने सम्भावना छ । सोमबार लगातार वर्षाका कारण मैदान प्रभावित भएकाले मंगलबारको खेलमा पनि मौसम मुख्य चुनौती बन्न सक्ने देखिएको छ । स्थानीय पूर्वानुमानअनुसार आज निसिनको तापक्रम करिब १७ देखि २२ डिग्री सेल्सियस रहनेछ । वर्षाको सम्भावना भने ४२ देखि ६० प्रतिशतसम्म रहेको पूर्वानुमान छ ।
श्रीलंकाविरुद्धको क्वाटरफाइनलको खेल हुन नसकेमा नेपाल प्रतियोगिताबाट बाहिरिने छ भने श्रीलंका सेमिफाइनलमा पुग्ने छ ।
यसअघि सोमबार हुनुपर्ने दुवै क्वाटरफाइनलका खेल बर्षाले रद्ध भएपछि भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् भने अफगानिस्तान र हङकङ बाहिरिएका छन् ।
प्रतियोगिताका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टिम चयन गरिएको हो । टिममा दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, आरिफ शेख, गुलशन झा, करण केसी, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्ल, सन्दीप जोरा, कुशल मल्ल र लोकेश बम रहेका छन् ।
सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदमा पुरुष क्रिकेटतर्फ भारतले स्वर्ण पदक जितेको थियो । पाकिस्तानलाई हराउँदै बंगलादेशले कांस्य पदक जितेको थियो । महिला क्रिकेटमा भारतले स्वर्ण, श्रीलंकाले रजत र बंगलादेशले कांस्य पदक जितेका थिए ।









