काठमाडौँ । यूईएफए नेसन्स लिगको दोस्रो खेलमा फ्रान्सले बेल्जियमलाई १–० ले पराजित गरेको छ भने इटालीले टर्कीलाई ४–१ गोलले हराएको छ ।
गएराती ब्रसेल्समा भएको खेलमा माइकल ओलिसेले खेल सकिन दुई मिनेट बाँकी छँदा गोल गर्दै फ्रान्सलाई जित दिलाए । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले अवसर बनाए पनि अन्तिम समयमा ओलिसेको व्यक्तिगत प्रयास निर्णायक बनेको थियो ।
त्यस्तै अर्को खेलमा इटालीले टर्कीलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो । इटालीले एलेसान्द्रो बास्टोनीको गोलबाट अग्रता लिएको थियो । त्यसपछि डेभिडे फ्रात्तेसी र माइकल कायोडेले गोल थपे । टर्किएका बारिश अल्पर यिल्माजले एक गोल फर्काए पनि पियो एस्पोसिटोले इटालीका लागि चौथो गोल गरेका थिए । पहिलो खेलमा बेल्जियमसँग हारेको इटालीले यस जितसँगै प्रतियोगितामा पुनरागमन गरेको छ ।
अब फ्रान्सले अर्को खेल अक्टोबर ३ मा इटालीसँग खेल्ने छ भने अक्टोबर ६ मा बेल्जियमसँग खेल्ने तालिका छन् ।









