काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।
भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन आफू आइतबार तान्जानिया प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपतिलाई दिएका थिए ।
अन्तरव्यवस्थापिका संघको १५३औँ महासभा अक्टोबर ५ देखि ९ सम्म तान्जानियाको अरुसास्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछ । महासभाको मुख्य विषय ‘समावेशिता, विश्वास र सबैका लागि अवसरमार्फत सुशासन सुदृढीकरण तथा समुदायको सशक्तीकरण’ रहेको छ ।
महासभामा संघका शासकीय परिषद्सहित सबै प्रमुख निकाय, स्थायी समिति, संसद् सदस्यको मानवअधिकारसम्बन्धी समिति, मध्यपूर्व मामिला समिति तथा महिला र युवा सांसदका मञ्चको बैठक हुनेछ। महासभाका क्रममा शासकीय परिषद्ले नयाँ अध्यक्षसमेत चयन गर्ने कार्यक्रम रहेको छ ।
महासभामा सहभागी प्रतिनिधिहरूले समावेशी विकास, सुशासन, लोकतन्त्र र समुदाय सशक्तीकरणका विषयमा छलफल गर्नेछन् । अपांगता भएका व्यक्तिको अधिकार तथा सशक्तीकरणका लागि संसदीय रणनीतिसम्बन्धी प्रस्ताव पनि पारित हुने अपेक्षा गरिएको छ । महासभाले समग्र छलफलको निष्कर्षका रूपमा एक दस्तावेजसमेत पारित गर्नेछ ।
अन्तरव्यवस्थापिका संघ विश्वभरका राष्ट्रिय संसद्हरूको साझा संस्था हो । सन् १८८९ मा स्थापना भएको संघमा हाल १८३ सदस्य संसद् र १५ सहयोजक सदस्य रहेका छन् । संघले संसदीय कूटनीति, शान्ति, लोकतन्त्र र दिगो विकास प्रवर्द्धनमा संसद् तथा सांसदहरूलाई सहजीकरण गर्दै आएको छ ।









