काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारहरूले तडकभडक र भड्किलो प्रचारप्रसार गर्न नपाउने भएका छन् ।
केन्द्रीय निर्वाचन समितिले विपद्पछिको संवेदनशील अवस्था, राष्ट्रिय भावना र वातावरणीय पक्षलाई ध्यान दिँदै निर्वाचन आचारसंहितामा थप कडा व्यवस्था लागू गरेको हो ।
समितिले महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायत कुनै पनि प्रकारका छापा तथा भौतिक प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण प्रतिबन्ध लगाएको छ । महाधिवेशन स्थल बाहिर, सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा समेत भौतिक प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ ।
अब उम्मेदवारहरूले आफ्ना एजेन्डा र उम्मेदवारीसम्बन्धी विवरण डिजिटल माध्यमबाट मात्रै प्रचार गर्न पाउनेछन् । सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट प्रचारप्रसार गर्न भने अनुमति दिइएको छ ।
केन्द्रीय निर्वाचन समितिले हालै भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको र देश शोक तथा पुनरोत्थानको कठिन अवस्थामा रहेकाले महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन यस्तो व्यवस्था गरिएको जनाएको छ ।
समितिले आचारसंहिताको पूर्ण पालना गर्दै महाधिवेशनलाई अनुशासित र मर्यादित रूपमा सम्पन्न गर्न नेता, कार्यकर्ता, उम्मेदवार तथा शुभेच्छुकलाई आग्रह गरेको छ । आचारसंहिता उल्लङ्घन भएमा नियमअनुसार कारबाही गरिने समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन् ।









