• २०८३ असोज २० मंगलबार

सशस्त्रका एआइजी वंशीराज दाहाल निलम्बित

सशस्त्रका एआइजी वंशीराज दाहाल निलम्बित

काठमाडौं । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाल निलम्बनमा परेका छन् ।

गृह मन्त्रालयले दाहाललाई तीन दिनभित्र छानबिन सम्पन्न गरी प्रतिवेदन पेस गर्ने गरी निलम्बन गरेको हो। गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार दाहालमाथि सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीत कार्य गरेको आरोपमा छानबिन अघि बढाइएको हो। सशस्त्र प्रहरी बल, नेपालबाट दाहालमाथि कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस प्राप्त भएपछि मन्त्रालयले छानबिन गर्ने निर्णय गरेको जनाएको छ।

विज्ञप्तिमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीत कार्य गरेको उल्लेख छ। सोही आरोपमाथि अनुसन्धान गर्न उनलाई निलम्बन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले दाहाललाई असोज १९ गतेको निर्णयअनुसार निलम्बन गरी तीन दिनभित्र छानबिन सम्पन्न गरेर मन्त्रालयमा प्रतिवेदन पेस गर्न छानबिन अधिकृत तोकेको छ । गृह मन्त्रालयले आफ्नो मातहतका सबै कर्मचारीबाट पद तथा सेवाअनुसारको आचरण पालना हुनुपर्नेमा पनि जोड दिएको छ। विशेषगरी सुरक्षा निकायसँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण तथा गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

मन्त्रालयले पद तथा आचरणविपरीतका गतिविधि, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने कार्यमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ।

विज्ञप्तिमा कानूनविपरीत हुने हरेक गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही गरिने पनि उल्लेख छ। गृह मन्त्रालयले विधिको शासन, कानूनको पालना तथा सार्वजनिक शान्ति सुरक्षाको संरक्षणप्रति सरकार प्रतिबद्ध रहेको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै