दाङ । नेपाल प्रिमियर लिग (एनपीएल) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराएको आरोपमा दाङबाट पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक नेपाली र चार भारतीय नागरिक रहेका छन् ।
लमही नगरपालिका–५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजमा अनलाइन सट्टेबाजीका माध्यम सञ्चालन भइरहेको सूचनाका आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शुक्रबार साँझ होटलको तेस्रो तलामा रहेका २०३ र २०४ नम्बरका कोठामा खानतलासी गर्दा कुश ७७७ लगायतका अनलाइन सट्टेबाजीका माध्यमबाट कारोबार भइरहेको भेटिएको थियो ।
प्रहरीले सट्टेबाजीमा प्रयोग गरिएका विभिन्न कम्पनीका दुई थान डेस्कटप कम्प्युटर, तीन थान ल्यापटप र १३ थान मोबाइल फोन गरी १८ थान विद्युतीय उपकरण बरामद गरेको छ ।
पक्राउ परेका पाँचै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय लमहीमा राखिएको प्रहरीले जनाएको छ ।









