काठमाडौँ ।तेक्वान्दो खेलाडी वैभवी सापकोटालाई सूर्यविनायक नगरपालिकाको खेलकुद विकास समितिले नगद पुरस्कारसहित सम्मान गरेको छ ।
नगरपालिका सभा हलमा आज आयोजित एक कार्यक्रमका बीच वैभवीलाई अन्तर्राष्ट्रिय खेलमा पदक विजेता खेलाडीका रुपमा सम्मान प्रदान गरिएको हो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख तथा नगरपालिका नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापालगायत वडा अध्यक्षहरु र अन्य विशिष्ठ महानुभावहरुको उपस्थिति रहेको थियो ।
वैभवीले २०८३ को भदौमा चीनमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो आमन्त्रण प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्णसहित दुई पदक जितेकी थिइन् । त्यसैगरी थाइल्यान्ड तथा भारतको सिक्किम, दिल्ली र कालिम्पोङमा भएका अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि वैभवीले स्वर्ण पदक जितेकी थिइन् ।
यसैबीच, वैभवी आगामी शुक्रबार विशेष प्रशिक्षणका लागि थाइल्यान्ड प्रस्थान गर्दै छिन् । थाइल्यान्डमा रहँदा वैभवीले त्यहाँको प्रतिष्ठित प्रतियोगिता "१४औं रोयल प्रिन्सेस कप" तेक्वान्दो च्याम्पियनसिपमा प्रतिष्पर्धा गर्ने छिन् । अक्टोबर २४ मा बैंककमा हुने सो प्रतियोगितामा वैभवीले क्योरुगी र पुम्से दुई विधामा प्रतिष्पर्धा गर्ने छिन् ।
हालै सम्पन्न प्रथम लायन काठमाडौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा वैभवीले स्वर्णसहित दुई पदक हासिल गरेकी थिइन् ।









