काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको महाधिवेशनमा अनुपस्थिति आफूहरूलाई नमिठो लागेको टिप्पणी गरेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै थापाले देउवाले लामो समय पार्टीमा योगदान दिएको स्मरण गर्दै उनको अनुपस्थितिले आफूहरूलाई नमिठो लागेको बताएका हुन् ।
उनले भने- 'यो पार्टी तपाईं-हामी सबै मिलेर बनाएका हौं । श्रद्धेय अध्यक्ष शेरबहादुर देउवाले यो पार्टीमा लामो समय बिताउनुभएको छ, बनाउनुभएको छ । अरूले पनि ठूलो योगदान गरेका छन् । हामीलाई मिठो लागेको छैन। आज मञ्चमा दाइहरू पनि हुनुपर्थ्यो, भोलि पनि हामी जोडेर जान चाहन्छौँ। त्यसैले अब अरू कुरा छाडिदिनुस् ।’
थापाले कांग्रेसको विवाद बारे सर्वोच्च अदालतमा पटक-पटक निवेदन जाने क्रम रोक्न आग्रह गरे । उनले भने- 'सर्वोच्च अदालतले कांग्रेसको विषयमा अर्को निवेदन पनि दरपीठ गरिदियो। सर्वोच्चले पटक-पटक पर्दैन भनिरहेको छ । त्यसैले अदालत धाउने, अदालत जाने काम नगर्नुस्। यसले समयको बर्बादी मात्र गर्छ ।'
उनले कांग्रेसभित्रको यो विवादलाई अब थप नलम्ब्याउन आग्रह गर्दै अब यो च्याप्टर बन्द गर्न सबैलाई आग्रह गरेका छन् । सभापति थापाले अब यो महाधिवेशनपछि काँग्रेसका सबै गुट सकिएको बताए ।









