काठमाडौँ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेर २०० जनाको निःशुल्क मुटु परीक्षण गरेको छ ।
केन्द्रले नुवाकोटका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरी बाढीबाट प्रभावित तथा स्वास्थ्य सेवाको पहुँचमा कठिनाइ भएका नागरिकलाई मुटुसम्बन्धी परीक्षण सेवा प्रदान गरेको हो ।
केन्द्रका अनुसार विदुर नगरपालिका–५ अन्तर्गत देवीघाट, पिपलटार, बट्टार बजार, बेलकोटगढी नगरपालिका–८, लिखु गाउँपालिका–२ र ३, सूर्यगढी गाउँपालिका, विदुर नगरपालिका–३ को सिर्खाली तथा बुहुनिबेँसीलगायत क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो ।
शिविरमा कुल २०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये १९० जनाको इकोकार्डियोग्राफी र १०० जनाको इलेक्ट्रोकार्डियोग्राम परीक्षण गरिएको केन्द्रले जनाएको छ । बाढीका कारण प्रभावित भएका र नियमित स्वास्थ्य सेवा लिन कठिनाइ भोगिरहेका नागरिकलाई लक्षित गरी केन्द्रले विशेषज्ञ चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमै परिचालन गरेको थियो ।
केन्द्रले प्रभावित क्षेत्रमा पुगेर निःशुल्क मुटु परीक्षण सेवा उपलब्ध गराउँदा स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहज भएको जनाएको छ ।









