काठमाडौँ । अमेरिकाले इरानबाट उत्पादित तेल, पेट्रोलियम पदार्थ र पेट्रोरसायनको कारोबार गरेको आरोपमा १० संस्था, छ व्यक्ति र पाँच पानीजहाजमाथि प्रतिबन्ध लगाएको छ ।
अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रतिबन्धमा भारत, संयुक्त अरब इमिरेट्स, टर्की, इरान र बेलायतसँग सम्बन्धित कम्पनी तथा व्यक्ति परेका छन् । प्रतिबन्धमा पाँच भारतीय नागरिकसमेत छन् ।
भारतस्थित एसएसपीएल सोलुसन्सका सञ्चालक ध्वनि निसर्ग भोरा र निसर्ग समीर भोरामाथि सन् २०२५ मा करिब २० लाख अमेरिकी डलर बराबरका इरानी पेट्रोरसायन आयात गरेको आरोप छ । त्यस्तै, समुद्री सेवा प्रदायक कम्पनी समुन्द्र मरीन सर्भिसेजका तीन भारतीय सञ्चालकलाई पनि प्रतिबन्ध लगाइएको छ ।
टर्कीको नुर्जाद पेट्रोकिम्या र संयुक्त अरब इमिरेट्सका अरेबियनप्रो मटेरियल्ससहित पानीजहाज व्यवस्थापन गर्ने दुई कम्पनी पनि प्रतिबन्धमा परेका छन् । ती कम्पनीले इरानी पेट्रोलियम पदार्थको कारोबार र ढुवानीमा सहयोग गरेको अमेरिकी आरोप छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘अपरेसन इकोनोमिक आउटकास्ट’ अन्तर्गत यी कदम चालिएको हो । इरानलाई तेल तथा पेट्रोरसायन बिक्रीबाट आम्दानी गर्न सहयोग गर्ने सञ्जाललाई कमजोर बनाउनु प्रतिबन्धको उद्देश्य रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।









