• २०८३ असोज २३ शुक्रबार

पोखरा स्कुल बस दुर्घटनाको छानबिन गर्न शिक्षा मन्त्रालयले बनायो समिति

पोखरा स्कुल बस दुर्घटनाको छानबिन गर्न शिक्षा मन्त्रालयले बनायो समिति

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले पोखरा महानगरपालिका–२८ मा शुक्रबार बिहान भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

दुर्घटनामा बालबालिकासहित पाँच जनाको मृत्यु भएपछि मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाइ, कास्कीका कार्यालय प्रमुखको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो । समितिलाई दुर्घटनाको वास्तविक कारण पत्ता लगाउने जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै, शोकसन्तप्त परिवार, अभिभावक तथा विद्यालय परिवारप्रति समवेदना प्रकट गरेको छ ।

दुर्घटनामा घाइते भएका विद्यार्थी तथा अन्य व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मन्त्रालयले उनीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइएको जनाएको छ । घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताल तथा निकायसँग समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

यसैबीच, भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन मन्त्रालयले विद्यालयका यातायात साधन र चालकको नियमित अनुगमन तथा प्राविधिक जाँचलाई अनिवार्य र प्रभावकारी बनाउने विषयमा अध्ययन सुरु गरेको छ ।

मन्त्रालयले विद्यालयका बस र चालकको नियमित अनुगमनका लागि आवश्यक मापदण्ड तयार गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। हरेक बालबालिकाको सुरक्षित आवागमन सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

यस दुर्घटनामा चार बालबालिकासहित पाँच जनाको मृत्यु भएको थियो भने १४ जना घाइते भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै