दोलखा । दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिएको छ ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय चरिकोटले विभिन्न आयोजना निर्माणको जिम्मा लिएर काम अघि नबढाउने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडेको हो ।
आर्थिक वर्ष २०७९/८० देखि ठेक्का सम्झौता गरी दोलखा जिल्लाका विभिन्न स्थानमा निर्माण कार्य अलपत्र पार्ने व्यवसायीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
सडक डिभिजन कार्यालयले पटक–पटक लिखित रूपमा ताकेता गर्दा पनि निर्माण कार्य अघि नबढाएपछि ठेक्का सम्झौता तोड्ने निर्णय गरिएको हो ।
ठेक्का सम्झौता तोडिएपछि बाँकी निर्माण कार्य सम्पन्न गर्न लाग्ने खर्च र यसबाट भएको क्षतिको मूल्याङ्कन गरिनेछ । त्यसरी कायम हुने रकम ३० दिनभित्र सम्बन्धित निर्माण व्यवसायीबाट सरकारी बाँकीसरह असुल गरिने सूचना जारी गरिएको छ ।
वर्षौंदेखि निर्माण कार्य अलपत्र पार्ने व्यवसायीमाथि कारबाही प्रक्रिया अघि बढेसँगै अधुरा आयोजना सम्पन्न गर्ने बाटो खुलेको छ ।









