काठमाडौँ । नेपालले जारी आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिज अन्तर्गत आज क्यानडाविरुद्ध खेल्दैछ ।
ओमानको अल अमेरात स्टेडियममा हुने यो खेलमा क्यानडाले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै यस खेलमा नेपालले पहिला ब्याटिंग गर्ने भएको छ । सिरिजको पहिलो खेलमा ओमानले क्यानडालाई पराजित गरेको थियो ।
यस खेलमा नेपालका लागि सन्दीप लामिछाने (कप्तान) सहित, आसिफ सेख, अर्जुन कुमाल, रोहित पौडेल, दिपेन्द्र सिंह ऐरी, बसिर अहमद, इशान पाण्डे, गुलशन झा, ललित राजबंशी, करण केसी र नन्दन यादव खेलिरहेका छन् ।
नेपालले यस सिरिजको अर्को खेल अक्टोबर १३ मा ओमानसँग, अक्टोबर १७ मा क्यानडासँग र अक्टोबर १९ मा ओमानसँग खेल्ने तालिका छन् ।
नेपालको विश्वकप लिग-२ मा हाल ३२ खेलमा २४ अंक रहेको छ भने अंक तालिकामा सातौं स्थानमा रहेको छ ।









