काठमाडौं । ओमानमा जारी आइसीसी विश्वकप लिग- २ अन्तर्गतको सिरिजमा नेपालले विजयी शुरुवात गरेको छ । नेपालले आइतबार सम्पन्न खेलमा क्यानडालाई २४ रनले पराजित गर्दै सिरिजमा विजयी शुरुवात गरेको हो ।
नेपालले दिएको २३६ रनको लक्ष्य पछाएको क्यानडाले ४८.४ ओभरमा अल आउट हुदै २११ रन बनाएको थियो ।
क्यानडाका लागि एरोन जोनसनले सर्बाधिक ४४ रन बनाए भने समित पटेलले ३५, अखिल कुमारले अविजित ३० र श्रेयस मोभ्भा र कप्तान हम्जा तारिकले २६-२६ रन बनाएका थिए । त्यस्तै नेपाली बलर नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजबंशीले २-२ विकेट लिएका थिए ।
यसअघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै ५० ओभरमा अल आउट हुदै २३५ रन बनाएको थियो ।
नेपालका लागि पुर्वकप्तान रोहित पौडेलले १०१ रनको शतकीय पारी खेलेका थिए । रोहितले १२५ बल खेल्दै ८ चौका र एक छक्कासहित शतक प्रहार गरेका हुन् । रोहितको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा यो तेस्रो शतक हो । रोहितले यसअघि २०२२ मा पिएनजीविरुद्ध १२६ रन बनाएका थिए भने २०२५ मा युएईविरुद्ध १०९ रन बनाएका थिए । त्यस्तै गुलशन झाले ४८ रन बनाए भने बसिर अहमदले ३० र अर्जुन कुमालले २३ रन बनाएका थिए । त्यस्तै क्यानडाका बलर अखिल कुमारले ४ विकेट लिए भने सुख्जिन्द सिंह ले ३ विकेट र जाहिद शिजादले २ विकेट लिएका थिए ।
अब सिरिजको अर्को खेलमा नेपालले मंगलबार ओमानको सामना गर्दैछ ।









