काठमाडौँ । प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले आफूमाथि सार्वजनिक भएका आरोपहरू झुटा भएको दाबी गर्दै सत्यतथ्य छानबिन गर्न पार्टी र सरकारसँग आग्रह गरेका छन् ।
सुनारले प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि आफू निरन्तर प्रहार र विभिन्न आरोपको सिकार भइरहेको बताएका छन् । काल्पनिक महिलासँग जोडेर आफ्नो नाममा श्रव्य सामग्री सार्वजनिक गरिएको दाबी गर्दै उनले त्यस्ता सामग्री कृत्रिम बुद्धिमत्तालगायत प्रविधिको प्रयोग गरेर बनाइएको आरोप लगाएका छन् ।
उनले आफूमाथि उठेका प्रत्येक प्रश्न र आरोपको निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् । भ्रष्टाचारविरुद्ध प्रश्न उठाएकै कारण आफूलाई निशाना बनाइएको उनको भनाइ छ । सुनारले आफूविरुद्ध हुने छानबिनमा पूर्ण सहयोग गर्न तयार रहेको बताएका छन् । साथै, आफूले सार्वजनिक गरेका विषय र आफूमाथि लागेका आरोपबारे फैलाइएका भ्रममा नपर्न उनले आम नागरिकलाई आग्रह गरेका छन् ।









