काठमाडौँ । रुग्ण अवस्थामा रहेको भेरी करिडोरअन्तर्गत दुनै–लासिक्याप सडक खण्डको निर्माणमा उल्लेख्य प्रगति भएको छ ।
यस सडक खण्डमा अहिले ट्र्याक खोल्ने काममा ६० प्रतिशत प्रगति भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुगमन र पहलपछि सडक निर्माणका क्रममा देखिएको विस्फोटसम्बन्धी समस्या समाधान भएको छ । करिडोरको अन्तिम प्याकेजअन्तर्गत लासिक्याप–सिसैल खण्डको निर्माणसमेत सुरु भएको छ । यसैगरी, काम अघि बढ्न नसकेका तल्लुबगर–त्रिवेणी र त्रिवेणी–चुगाड सडक खण्डको मन्त्रालयले निरीक्षण गरी निर्माण प्रक्रिया अघि बढाएको छ ।
करिडोरअन्तर्गत पुल निर्माणमा पनि प्रगति भएको छ। यसअघि कुनै प्रगति नभएको तर्ता खोलाको पुलको तल्लो संरचना निर्माण सम्पन्न भएको छ । नलगाड र झिम्री खोलाका पुलमा एक भागको खम्बा निर्माण सकिएको छ भने बीचको भागमा जग खन्ने काम भइरहेको छ। माइदे र तासु खोलामा पनि पुल निर्माणका लागि जग खन्ने काम अघि बढेको मन्त्रालयले जनाएको छ ।
डोल्पासहित कर्णाली प्रदेशका विभिन्न जिल्लालाई जोड्ने रणनीतिक महत्त्वको भेरी करिडोर निर्माण समयमै सम्पन्न गर्न मन्त्रालय प्रतिबद्ध रहेको जनाएको छ ।









