काठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।
नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिले फूलपाती भित्र्याउने तथा श्री तुलजाभवानी यात्रासहितका धार्मिक विधि हुनेछन् । सो दिन श्री तुलजाभवानी यात्राका लागि बिहान ७: ३० बजे र स्थिरासनका लागि बिहान १०: ३२ बजेको समय निर्धारण गरिएको समितिले जानकारी दिएको छ ।
केरामा ब्रह्मायणी, दारिममा रक्तदन्तिका, धानमा लक्ष्मी, हलेदोमा दुर्गा, मानवृक्षमा चामुण्डा, उखुमा कालिका, बेलपत्रमा शिवा, अशोकमा शोकरहिता र जयन्तीमा कात्तिकी देवीको आह्वान गरी पूजा गरिन्छ, यी देवी नवदुर्गाका पार्षद् अर्थात् सहायक हुन् । फूलपाती भित्र्याएपछि नौवटै देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । फूलपाती भित्र्याउनका लागि साइतको आवश्यक्ता नपर्ने पनि धर्मशास्त्रविद्हरु बताउछन् ।
हनुमानढोका दरबारको दशैँघरमा गोरखा जिल्लाबाट ल्याइएको फूलपाती भित्र्याउने परम्परा छ । गोरखाबाट धादिङ जिल्लाको जीवनपुरसम्म दशैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र धादिङ जिल्लाको जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहिआएको छ ।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्च पदस्थ अधिकारीहरु, गुर्जुका पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याउने गरिन्छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि शुरु हुने नेपालीहरुको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ । आजैका दिनदेखि सरकारी कार्यालय पनि बिदा हुने भएकाले विभिन्न पेशा र व्यवसायमा संलग्न मानिस सपरिवार बसेर दुर्गा भवानीको प्रसादका रूपमा टीका थाप्न आआफ्नो घर फर्कने क्रम अझ तीव्र हुने गर्दछ ।
नेपालका ग्रामीण भेगमा आजैका दिनदेखि दोबाटो, चौतारो र चौबाटाहरुमा हालिने लिङ्गे पिङ, जाँते पिङ र रोटे पिङले दशैँको रौनकतालाई अझ बढाउने गर्दछ ।
बडादशैंको टीकाको शुभ साइत:
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक १ गते आइतबार महाअष्टमी तथा कालरात्रि मनाइनेछ । त्यसपछि कार्तिक ३ गते मंगलबार महानवमी तथा विजयादशमीका प्रमुख धार्मिक विधि सम्पन्न हुनेछन् ।
विजयादशमीका दिन देवी विसर्जन बिहान ८: ४८ बजे गर्ने साइत तोकिएको छ । त्यसपछि टीका लगाउने तथा टीका लगाइ माग्ने व्यक्ति पश्चिम फर्किने समय बिहान १०: २६ बजे निर्धारण गरिएको छ। सोही दिन श्री तुलजाभवानी यात्रा, स्थिरासन तथा खड्गयात्रासमेत हुने समितिको विवरणमा उल्लेख छ। श्री तुलजाभवानी यात्राका लागि बिहान १०: ४१ बजे र स्थिरासनका लागि दिउँसो ११" ५२ बजेको समय तोकिएको छ।
समितिले कार्तिक ८ गते आइतबार अखिलबलीपूर्ति तथा कोजाग्रतपूजा हुने जनाएको छ । यससँगै २०८३ सालको बडादसैँसँग सम्बन्धित मुख्य धार्मिक विधि तथा कार्यक्रमको क्रम पूरा हुनेछ ।









