काठमाडौँ । काठमाडौँको माछापोखरी चोकमा आपसी विवादका क्रममा भएको झगडामा एक युवकको मृत्यु भएको छ ।
शनिबार राति करिब १२:१२ बजे काठमाडौँ महानगरपालिका–१६ माछापोखरी चोकमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल तारकेश्वर नगरपालिका–९ मनमैजु बस्ने २० वर्षीय सुवाश तामाङबीच विवाद भएको थियो ।
विवादका क्रममा झगडा हुँदा सुवाश लडेर अचेत अवस्थामा फेला परेका थिए । उनलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएकोमा उपचारका क्रममा दिउँसो १:३० बजे मृत्यु भएको हो ।
घटनापछि प्रहरीले कुटपिटमा संलग्न रहेको आरोपमा अर्जुन ताम्राकारलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









