काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लागेको छ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाले जारी गरेको दशैँ विशेष मौसम बुलेटिनअनुसार नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले दशैँका बेला ठूलो वर्षाको सम्भावना नरहे पनि केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ ।
त्यस्तै महाशाखाले नवमीदेखि दशमीसम्म कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा पनि आंशिक बादल लाग्ने पूर्वानुमान छ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। यस अवधिमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाको पूर्वानुमानअनुसार दशैँका अधिकांश दिन मौसम अनुकूल रहने देखिए पनि हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले सम्भावित वर्षा, हिमपात र चट्याङलाई ध्यानमा राख्नुपर्नेछ ।









