काठमाडौं । अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस आज मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले सन् २०२४ मा घोषणा गरेपछि यो दिवस दोस्रोपटक आधिकारिक रूपमा मनाउन लागिएको हो ।
एसियाका उच्च हिमाली क्षेत्रमा पाइने हिउँ चितुवा नेपालसहित १२ देशमा फैलिएको छ । यसको वैज्ञानिक नाम ‘पान्थेरा उनसिया’ हो । लजालु स्वभावका कारण यसलाई ‘पहाडको भूत’ समेत भनिन्छ ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूचीमा हिउँ चितुवालाई जोखिममा रहेको प्रजातिका रूपमा राखिएको छ । वासस्थान विनाश, जलवायु परिवर्तन, आहारा प्रजातिको कमी, चोरीसिकार र अवैध व्यापार यसका प्रमुख खतरा हुन् ।
यस दिवसको मुख्य उद्देश्य हिउँ चितुवा र यसको हिमाली पारिस्थितिक प्रणालीको संरक्षण गर्नुका साथै सम्बन्धित देशबीच सहकार्य बढाउनु हो । हिमाली पारिस्थितिक प्रणालीले तल्लो भेगका दुई अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी उपलब्ध गराउन महत्त्वपूर्ण भूमिका खेल्छ ।
अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको बिरालो प्रजाति विशेषज्ञ समूहले सार्वजनिक गरेको पछिल्लो उपलब्ध अनुमानअनुसार विश्वभर ७ हजार ४४६ देखि ७ हजार ९९६ वटासम्म हिउँ चितुवा रहेको अनुमान छ । तीमध्ये करिब २ हजार ७१० देखि ३ हजार ३८६ वयस्क प्रजननयोग्य उमेरका रहेको अनुमान गरिएको छ । दुर्गम हिमाली क्षेत्रमा पाइने र सहजै देख्न नसकिने भएकाले यसको वास्तविक सङ्ख्या यकिन गर्न चुनौती रहेको छ ।
नेपालको हकमा भने सन् २०२५ मा सार्वजनिक गरिएको राष्ट्रिय सर्वेक्षणले देशभर ३९७ हिउँ चितुवा रहेको अनुमान गरेको छ ।

2026-10-22-05-52-35_1000x584_50.webp)







