काठमाडौँ । हरेक वर्ष अक्टोबर ११ मा मनाइने अन्तर्राष्ट्रिय बालिका दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
सन् २०११ को डिसेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभाले प्रस्ताव नम्बर ६६/१७० पारित गरेपछि यो दिवस मनाउन थालिएको हो । पहिलोपटक सन् २०१२ मा यो दिवस मनाइएको थियो ।
सन् २०२६ को अन्तर्राष्ट्रिय बालिका दिवसको नारा ‘बालविवाह अन्त्य गरौँ, बालिकाको अधिकारमा लगानी गरौँ’ रहेको छ ।
यस दिवसले बालिकाको आवाजलाई प्राथमिकता दिने, उनीहरूको विद्यालय शिक्षालाई निरन्तरता दिने, बालविवाह अन्त्य गर्ने तथा लैङ्गिक हिंसा रोक्ने विषयमा जोड दिन्छ । साथै, नेतृत्व, स्वास्थ्य सेवा र डिजिटल शिक्षामा बालिकाको समान पहुँच सुनिश्चित गर्नु पनि दिवसको प्रमुख उद्देश्य हो ।
विश्वभर हरेक वर्ष एक करोड २० लाखभन्दा बढी बालिकाको बालविवाह हुने गरेको तथ्याङ्क छ । यसको अर्थ प्रत्येक तीन सेकेन्डमा एक बालिकाको विवाह हुने गरेको छ । उपसहारा अफ्रिकामा बालविवाहको प्रचलन सबैभन्दा बढी रहेको छ, जहाँ ३१ प्रतिशत बालिका बालविवाहको जोखिममा छन् । यद्यपि, पछिल्ला २५ वर्षमा गरिएका दीर्घकालीन प्रयासका कारण विश्वभर अनुमानित ६ करोड ८० लाख बालविवाह रोक्न सकिएको छ ।
त्यस्तै, विश्वभर करिब १३ करोड ३० लाख बालिका विद्यालय शिक्षाबाट वञ्चित छन् । १५ देखि १९ वर्ष उमेर समूहका विवाह गरिसकेका किशोरीमध्ये झन्डै चार जनामा एक जनाले आफ्नो घनिष्ठ साथीबाट हिंसा भोग्ने गरेको तथ्याङ्कले देखाउछ ।
बालिकालाई शिक्षाको समान अवसर प्रदान गर्ने, उनीहरूको सुरक्षा सुनिश्चित गर्ने र बालविवाहजस्ता हानिकारक प्रथा अन्त्य गर्ने उद्देश्यले यो दिवस मनाइन्छ ।









