• २०८३ कार्तिक १० सोमबार

बोल्सोनारोले अस्वीकार गरे लुलाको जित, परिणाम रद्ध गर्न माग

बोल्सोनारोले अस्वीकार गरे लुलाको जित, परिणाम रद्ध गर्न माग

काठमाडौं । ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि फ्लाभियो बोल्सोनारोले निर्वाचन परिणाममाथि प्रश्न उठाउँदै त्यसलाई रद्द गर्न माग गरेका छन् । 

उनले निर्वाचनको परिणाम स्वीकार गर्न नसकिने बताएका छन् । अन्तिम मतपरिणामअनुसार लुइज इनासियो लुला दा सिल्भाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दा बोल्सोनारोले ४८.२१ प्रतिशत मत पाएका छन् ।

बोल्सोनारोले निर्वाचनका क्रममा ‘खेलका नियम परिवर्तन गरिएको’ आरोप लगाउँदै परिणाम रद्द गर्नुपर्ने बताएका छन् । उनले आफ्नो पहिलो सार्वजनिक प्रतिक्रियामा निर्वाचन रद्द गराउन आफ्नो चुनावी टोलीका कानुन व्यवसायीलाई अदालतमा निवेदन दिन निर्देशन दिने बताएका छन् ।

उनले उठाएको मुख्य विषय सर्वोच्च अदालतले मतदानको समय दुई घण्टा थप्ने निर्णय हो । यो असामान्य निर्णय भए पनि लुला र बोल्सोनारो दुवै पक्षका चुनावी टोलीले मतदानको समय थप्न औपचारिक अनुरोध गरेका थिए । लुलाको टोलीले साओ पाउलो र बाहिया राज्यमा बसको अभावका कारण मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिन भएको तर्क गरेको थियो ।

त्यस्तै, बोल्सोनारोको टोलीले देशको दक्षिणी क्षेत्र र साओ पाउलोका केही स्थानमा परेको भारी वर्षालाई कारण देखाउँदै मतदानको समय थप्न आग्रह गरेको थियो । अब बोल्सोनारोको कानुनी टोलीले निर्वाचन परिणाम रद्द गर्नुपर्ने मागको समर्थनमा अदालतमा पेस गर्ने तर्क तयार पारिरहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै