काठमाडौं । नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र प्रदान गरेको छ । यससँगै विद्युत् उत्पादनमा सक्रिय निजी क्षेत्रलाई विद्युत् व्यापारमा समेत सहभागी गराउने दिशामा महत्वपूर्ण कदम अघि बढेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्णयअनुसार आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले स्वदेशी तथा विदेशी विद्युत् बजारको अध्ययन, सम्भावित खरिदकर्ता तथा व्यापारिक साझेदारको पहिचान, प्राविधिक तथा वित्तीय सम्भाव्यता अध्ययन र आवश्यक व्यावसायिक तयारी गर्न सक्नेछन् ।
नेपालको जलविद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको सन्दर्भमा उत्पादित विद्युत्को दिगो बजार सुनिश्चित गर्नु, विद्युत् व्यापारका नयाँ अवसर पहिचान गर्नु र निजी लगानीको सम्भावना विस्तार गर्नु यस व्यवस्थाका प्रमुख उद्देश्य हुन् । यसले निजी क्षेत्रलाई विद्युत् उत्पादनसँगै व्यापार तथा बजार विकासका क्षेत्रमा समेत आफ्नो भूमिका विस्तार गर्ने आधार प्रदान गर्ने अपेक्षा गरिएको छ । नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहँदै आएको छ। अब विद्युत् व्यापारको तयारीमा समेत निजी क्षेत्रलाई सहभागी गराउने व्यवस्थाले क्षेत्रीय ऊर्जा सहकार्य, सीमापार विद्युत् कारोबारको सम्भावना र लगानीका नयाँ अवसर पहिचान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
आशयपत्र प्राप्त हुँदैमा सम्बन्धित कम्पनीले तत्काल विद्युत् खरिद–बिक्री गर्न पाउने छैनन् । वास्तविक विद्युत् व्यापार सञ्चालन गर्न प्रचलित कानुनअनुसार आवश्यक कानुनी व्यवस्था, अनुमतिपत्र, सम्बन्धित निकायको स्वीकृति तथा प्रसारण प्रणालीमा पहुँचसम्बन्धी प्रावधान पूरा गर्नुपर्ने उर्जा मन्त्रालयले जनाएको छ ।
सरकारको यस कदमले नेपालको विद्युत् क्षेत्रलाई उत्पादन, बजार विकास र क्षेत्रीय व्यापारबीच थप समन्वय स्थापित गर्ने दिशामा अघि बढाउन सहयोग गर्ने अपेक्षा गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।









