काठमाडौं । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी कारोबार गर्ने कम्पनी बाइनान्समा ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी भएको आशंका गरिएको छ । बिहीबार सार्वजनिक गरिएको घटनालाई क्रिप्टोकरेन्सी क्षेत्रकै इतिहासमा सबैभन्दा ठूलो साइबर आक्रमण मानिएको छ ।
बाइनान्सका अनुसार चोरी भएका सम्पत्तिमध्ये करिब आधा रोक्का गर्न सफल भएको छ भने बाँकी रकम अझै आक्रमणकारीको नियन्त्रणमा छ । कम्पनीले चोरीबाट भएको सम्पूर्ण क्षति बेहोर्ने प्रतिबद्धता जनाएको छ । प्रारम्भिक अनुसन्धानमा कम्पनीका एक इन्जिनियरको कम्प्युटरमा अनधिकृत पहुँच बनाएर त्यसैको माध्यमबाट डिजिटल सम्पत्ति निकालिएको आशंका गरिएको छ ।
दुईवटा साइबर अनुसन्धान संस्थाले यस आक्रमणमा उत्तर कोरियासँग सम्बन्धित ह्याकर समूह ‘ट्रेडर ट्रेटर’ संलग्न रहेको आशंका गरेका छन् । अनुसन्धान संस्था चेनएनालाइसिसले पनि उक्त समूहको संलग्नता रहेकोमा उच्च विश्वास व्यक्त गरेको छ । यसअघि सन् २०२५ मा बाइबिट नामक कारोबार मञ्चबाट १ अर्ब ५० करोड डलर चोरी भएको घटनाभन्दा यो आक्रमण निकै ठूलो देखिएको छ ।
घटनापछि बाइनान्सले आफ्नो कारोबार प्रणाली सुरक्षित रहेको पुष्टि नहुँदासम्म रकम झिक्ने सेवा बन्द गरेको छ । यसैबीच, डिजिटल मुद्रा जारी गर्ने कम्पनी टिथरले करिब १ अर्ब ६० करोड डलर र सर्कलले ८० करोड डलरभन्दा बढीको शंकास्पद सम्पत्ति रोक्का गरेका छन्। यसरी दुई कम्पनीले संयुक्त रूपमा करिब २ अर्ब ४० करोड डलर बराबरको सम्पत्ति रोक्का गरेका हुन् ।
बाइनान्सले अपराधीको पहिचान गरी कानुनी कारबाही गर्न सुरक्षा निकायसँग सहकार्य भइरहेको जनाएको छ । अमेरिकी प्रयोगकर्तालाई सेवा दिने बाइनान्स अमेरिकाले भने आफ्नो प्रणाली यस घटनाबाट प्रभावित नभएको स्पष्ट पारेको छ। त्यस्तै, कोइनबेसले पनि आफ्नो कारोबार प्रणाली सुरक्षित रहेको जनाएको छ ।
साइबर आक्रमणको खबर सार्वजनिक भएपछि विश्वव्यापी क्रिप्टोकरेन्सी बजारमा समेत असर परेको छ । बिटक्वाइनको मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ भने इथेरियम र सोलानाजस्ता प्रमुख डिजिटल मुद्राको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ । सन् २०१७ मा स्थापना भएको बाइनान्सका विश्वभर ३० करोडभन्दा बढी दर्ता भएका प्रयोगकर्ता रहेको बताइएको छ ।









