• २०८३ कार्तिक १३ शुक्रबार

विपद्पछिको पुनर्निर्माणमा नयाँ सोच अपनाउनुपर्नेमा नेपालको जोड

विपद्पछिको पुनर्निर्माणमा नयाँ सोच अपनाउनुपर्नेमा नेपालको जोड

काठमाडौं । नेपालको विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणलाई सुरक्षित, दिगो र उत्थानशील बनाउनुपर्नेमा जोड दिँदै थाइल्याण्डको बैंककमा अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न भएको छ ।

बैंककस्थित नेपाली राजदूतावास र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको संयुक्त आयोजनामा ‘अनुसन्धान, नवप्रवर्तन र साझेदारीमार्फत एसियामा विपद् उत्थानशीलता अभिवृद्धि’ विषयक कार्यशाला सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रसुवा बाढीपछि नेपालले पहिलेको भन्दा बलियो संरचना निर्माण गर्ने मात्र नभई पुनर्निर्माणको फरक अवधारणा अपनाउन लागेको बताए ।

उनले सुरक्षित स्थानको पहिचान, भविष्यमा आउन सक्ने विपद्बाट सुरक्षा, हिमाली क्षेत्रका जोखिमको विश्लेषण तथा विस्थापित नागरिकको सांस्कृतिक पहिचान र भावनाको सम्मान गर्दै पुनर्स्थापना गर्ने सरकारको प्राथमिकताबारे जानकारी गराए ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी–त्रिशूली क्षेत्रको पुनर्निर्माणलाई सुरक्षित बस्ती, उत्थानशील पूर्वाधार, संरक्षित जलविद्युत् आयोजना र दिगो जीविकोपार्जनसहितको नमुना हिमाली विकासका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए ।

उनले विपद्पछिको पुनर्निर्माणलाई क्षतिग्रस्त संरचना पुनःनिर्माणमा मात्र सीमित नराखी भविष्यका जोखिम सामना गर्न सक्ने सुरक्षित र दिगो विकासको अवसरका रूपमा उपयोग गर्नुपर्ने धारणा राखेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै