• २०८३ कार्तिक १५ आइतबार

वर्षा र पहिरोले यी सडक अवरुद्ध

वर्षा र पहिरोले यी सडक अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीका कारण देशका सात जिल्लाका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् । 

नेपाल प्रहरीका अनुसार आइतबार बिहानसम्म ललितपुर, खोटाङ, काभ्रेपलाञ्चोक, गोरखा, मुस्ताङ, पाल्पा र सुर्खेतका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् ।

प्रहरीका अनुसार ललितपुरमा दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । बागमती गाउँपालिका–३ स्थित पहिरोका कारण कान्तिलोकपथ पूर्ण रूपमा बन्द भएको छ । त्यस्तै, ललितपुर महानगरपालिका–२८ स्थित क्षेत्रमा अविरल वर्षाका कारण सुन्दरीजलस्थित बागमती करिडोर पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

कोशी प्रदेशको खोटाङमा पनि पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ लुकुवीडाँडामा पहिरो खसेपछि उक्त सडकखण्ड पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।

बागमती प्रदेशको काभ्रेपलाञ्चोकमा रोशी गाउँपालिका–९ र रोशी गाउँपालिका–८ को सीमाक्षेत्रमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । बिपी राजमार्ग आज दिउसोसम्म संचालनमा आउने बताइएको छ । 

त्यस्तै, गण्डकी प्रदेशको गोरखामा बाढीका कारण आरुघाट गाउँपालिका–२ र ३ जोड्ने क्षेत्रमा रहेको सोतीखोला भञ्ज्याङ जाने पुल अवरुद्ध भएको छ ।

मुस्ताङमा भने दुई स्थानमा सडक प्रभावित भएको छ । घरपझोङ गाउँपालिका–८ जोमसोमस्थित क्षेत्रमा पहिरो तथा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा अविरल वर्षाका कारण जोमसोम–कोरला सडकखण्ड प्रभावित भएको छ । दुवै स्थानमा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ ।

लुम्बिनी प्रदेशको पाल्पामा रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी करिडोर पहिरोका कारण प्रभावित भएको छ। उक्त सडकखण्ड एकतर्फी रूपमा सञ्चालनमा रहेको छ ।

त्यस्तै, कर्णाली प्रदेशको सुर्खेतमा बराहताल गाउँपालिका–६ आलेखसे क्षेत्रमा पहिरो खसेपछि कर्णाली राजमार्ग प्रभावित भएको छ । उक्त सडकखण्डमा पनि एकतर्फी रूपमा सवारीसाधन सञ्चालन भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै